
कोलकाता, 4 सेप्टेम्बर (हि.स.)। बीरभूमका चर्चित बालुवा माफिया टुलु मण्डलको अकुत सम्पत्तिको जाँच गर्ने सिलसिलामा जिल्ला पुलिसले फेरि एकपटक कारबाहीलाई तीव्रता दिएको छ। बितेको बिहीवार राती पुलिस अधिकारीहरूले सिउड़ीस्थित टुलुको अर्को घरमा छापामारी गरे।
स्थानीय सूत्रानुसार यो घर टुलु मण्डलकै हो र उसको एकजना प्रबन्धक यहाँ बस्दै आएको छ। पुलिस सूत्र मुताविक छोटन नामक युवकको खोजीमा यो कारबाही गरिएको हो।
टुलु मण्डलको अहिलेसम्म कुनै सुइँको पाइएको छैन। बेहिसाबी सम्पत्ति, आफन्तको घरबाट प्रचुर मात्रामा सुन र नगद जफत हुनको साथै बीरभूममा सङ्गठित अपराधसित सम्बन्धित केही आरोपहरूमा टुलुविरूद्ध मामिला दर्ता गरिएको छ। पुलिसले यस मामिलामा उसका धेरै जना आफन्तहरू तथा निकटवर्तीहरूलाई पहिला नै पक्राउ गरिसकेको छ।
हालैमा बीरभूमको मोहम्मद बजार थाना क्षेत्रको देउचा गाउँमा टुलुका आफन्त मिनार मण्डलको घरबाट पुलिसले 28.5 करोड़ रुपियाँ नगद र लगभग 15 किलोग्राम सुन जफत गरेको थियो। मिनरलाई पक्राउ गरिएको भए पनि टुलु अहिलेसम्म पुलिसको हातमा परेको छैन। जाँचमा उसको सम्पत्ति पनि जफत गरिसकिएको छ।
पक्रा पर्ने आशङ्काले टुलुले पहिला नै कलकत्ता उच्च अदालतमा सुरक्षाको माग गर्दै याचिका दर्ता गराएको थियो। पछि उसले पक्राउ वारन्टलाई चुनौती दिनको साथै सम्पत्ति जफत गर्ने प्रक्रियामाथि पनि प्रश्न उठाएको थियो। तथापि अन्य पीठमा मामिला लम्बित रहेको कारणले न्यायमूर्ति कौशिक चन्दले मामिलादेखि आफूलाई टाड़ा राखेका छन्।
टुलु मण्डलविरूद्ध पक्राउ वारन्ट सहित इन्टरपोल रेड कर्नर नोटिस समेत जारी गरिएको छ। सिउड़ीको अतिरिक्त मुख्य न्यायिक मजिस्ट्रेट अदालतले उसलाई पेश हुने निर्देश दिएको थियो। अदालतले स्पष्ट पारेको थियो, निर्धारित समयमा पेश नभए उसलाई घोषित अपराधी मान्न सकिन्छ। टुलुले पक्राउदेखि राहत पाउने प्रयास गरेको भए तापनि उच्च अदालतले उसको सुरक्षा सम्बन्धी याचिकालाई खारेज गरिदिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा