
काठमाडौं, ०5 सेप्टेम्बर (हि.स.)। नेपाल-चीन सीमास्थित गिरोङ क्षेत्रमा २६ अगस्तमा गएको पैह्रोपछि नदीमा आएको बाढीका कारण सीमा क्षेत्रमा चीनतर्फ रहेको अध्यागमन तथा भन्सार भवनबाट शुक्रबार साँझ ६ बजीसम्म ३१ जनाको शव बरामद भएको तथा ५३१ जना सम्पर्कविहीन रहेको आधिकारिक जानकारी चीनतर्फबाट दिइएको छ।
चीनको सरकारी समाचार एजेन्सीका अनुसार, पैह्रोपछि नदीमा आएको बाढीमा उक्त भवनमा रहेका ५३१ जना बेपत्ता भएका छन्। उद्धारकर्मीहरूले प्रभावित क्षेत्रबाट ९८७ वटा व्यक्तिगत सामान बरामद गरेका छन्। चिनियाँ अधिकारीहरूका अनुसार, बुधबारसम्म जी-२१६ उद्धार मार्गको निरीक्षण गर्ने क्रममा सम्भावित भूगर्भीय विपत्तिका ५८ स्थान पहिचान गरिएको छ।
चिनियाँ अधिकारीहरूले सीमा क्षेत्रमा सम्भावित जोखिमयुक्त क्षेत्रहरूको निरीक्षण तथा जोखिम मूल्यांकन पनि पूरा गरेको दाबी गरेका छन्। यससँगै दुईवटा अस्थायी आपतकालीन आश्रयस्थलका लागि स्थान छनोट गरिएको छ।
विनाशकारी पैह्रोका कारण किरोङ बन्दरगाह हुँदै बगेको बाढीले धेरै भवन तथा विद्युत् आपूर्ति प्रणालीमा क्षति पुर्याएको छ। यसबाहेक, किरोङ बन्दरगाहतर्फ जाने जी-२१६ राजमार्गको एउटा भाग पनि क्षतिग्रस्त भएको छ। यसबाट आपदा प्रबन्धन तथा उद्धार कार्यमा गम्भीर बाधा उत्पन्न भएको छ।
हिन्दुस्थान समाचार / बिशाल