
नयाँ दिल्ली, ०५ सेप्टेम्बर (हि.स.)। शिक्षक दिवसको अवसरमा उपराष्ट्रपति सीपी राधाकृष्णन, लोकसभा अध्यक्ष ओम बिरला, रक्षामन्त्री राजनाथ सिंहसहित धेरै नेताहरूले देशभरका शिक्षकहरूलाई शुभकामना दिएका छन्। यस अवसरमा नेताहरूले महान् दार्शनिक, शिक्षक तथा पूर्वराष्ट्रपति भारत रत्न डा. सर्वपल्ली राधाकृष्णनको जयन्तीमा उनीति श्रद्धासुमन पनि अर्पण गरेका छन्।
उपराष्ट्रपति सीपी राधाकृष्णनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत देशभरका शिक्षकहरूलाई शिक्षक दिवसको शुभकामना दिएका छन्। उनले शिक्षकहरूले आफ्नो ज्ञान र मूल्यका माध्यमबाट देशको भविष्यलाई आकार दिने तथा विकसित भारतको आधारशिला तयार गर्ने बताएका छन्। डा. सर्वपल्ली राधाकृष्णनलाई स्मरण गर्दै उनले उनको जीवन ज्ञान र शिक्षाका उच्चतम आदर्शको प्रतीक रहेको बताए। उनले शिक्षकहरूको समर्पणलाई नमन गर्दै उनीहरूको निरन्तर सफलताको कामना गरेका छन्।
लोकसभा अध्यक्ष ओम बिरलाले शिक्षकहरू समाजका ती शिल्पकारहरूमध्ये रहेको बताएका छन्, जसले आफ्नो ज्ञान, संस्कार र मार्गदर्शनबाट आउने पुस्ताको निर्माण गर्छन्। उनले कुनै राष्ट्रको प्रगति केवल त्यसको आर्थिक शक्ति र स्रोतसाधनबाट मात्र निर्धारण नहुने, तर नागरिकहरूको शिक्षा, सोच, चरित्र र जिम्मेवारीको भावना पनि महत्वपूर्ण हुने बताए। व्यक्तित्व निर्माणदेखि राष्ट्र निर्माणसम्म यी मूल्यहरूलाई आकार दिन शिक्षकको भूमिका सबैभन्दा महत्वपूर्ण हुने उनले बताए।
रक्षामन्त्री राजनाथ सिंहले देश र समाजको निर्माणमा शिक्षकहरूको अग्रणी भूमिका रहेको बताएका छन्। उनले शिक्षक दिवसको अवसरमा सबै शिक्षकहरूलाई शुभकामना दिँदै उनीहरूको योगदानलाई नमन गरेका छन्।
केन्द्रिय गृहमन्त्री तथा सहकारितामन्त्री अमित शाहले डा. सर्वपल्ली राधाकृष्णनप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको अमूल्य विरासतले ज्ञानसम्पन्न भारत निर्माणका लागि देशलाई निरन्तर प्रेरणा दिइरहने बताएका छन्।
केन्द्रिय वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलले देशको हरेक सफलताको पछाडि कुनै न कुनै शिक्षकको योगदान हुने बताएका छन्। शिक्षकहरूले नै विद्यार्थीहरूको मनमा प्रश्न उत्पन्न गर्ने, विचारलाई दिशा दिने तथा उनीहरूलाई आफ्ना सपना पूरा गर्ने हौसला प्रदान गर्ने उनले बताए।
कांग्रेसका राष्ट्रिय अध्यक्ष तथा लोकसभामा विपक्षी दलका नेता मल्लिकार्जुन खरगेले शिक्षकहरूले सोचलाई आकार दिने, मूल्यहरूको प्रवर्द्धन गर्ने तथा देशको भविष्यको बलियो आधार तयार गर्ने बताएका छन्।
केन्द्रिय पर्यावरणमन्त्री भूपेन्द्र यादवले शिक्षकहरूले ज्ञानको मार्ग उज्यालो बनाउने, युवा मनलाई प्रेरित गर्ने तथा जिम्मेवार नागरिक बनाउने मूल्यहरूको विकास गर्ने बताएका छन्। यही मूल्यहरूले बलियो र प्रगतिशील राष्ट्रको आधारशिला तयार गर्ने उनले बताए।
केन्द्रिय कृषि, किसान कल्याण तथा ग्रामीण विकासमन्त्री शिवराज सिंह चौहानले गुरुको महत्वलाई रेखांकित गर्दै गुरुभन्दा ठूलो अर्को कुनै भगवान् नहुने बताएका छन्। उनले गुरुहरूले काँचो माटोलाई आकार दिएर त्यसमा प्राण भर्ने काम गर्ने बताए। उनले सबैको जीवनमा गुरुजनहरूको आशीर्वाद सदैव कायम रहोस् भन्ने कामना गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी