
खरसाङ, 06 सेप्टेम्बर (हि.स.)। खरसाङको पंखाबारी, लङ्गभ्यू, अम्बटे समष्टिमा आयोजित भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) को कर्मी सभामा पार्टी अध्यक्ष अनित थापाले गोर्खाल्यान्ड, पार्टीको भावी रणनीति र वर्तमान राजनीतिक परिस्थितिबारे आफ्नो धारणा स्पष्ट पारेका छन्।
सभालाई सम्बोधन गर्दै थापाले “भोट हालेर गोर्खाल्याण्ड पाइँदैन भनेर जान्दा जान्दै पनि भाजपाले गोर्खाल्याण्ड दिन्छ भन्ने आस्था राखेर नै जनताले भोट हालेका हुन्” भनी बताए। उनले “जनताले गोर्खाल्याण्डको निम्ति विजयी बनाएका हुन्” भन्दै भागोप्रमो “सदैव गोर्खाल्यान्डको पक्षमा” रहेको दाबी गरे।
थापाले गोर्खाल्याण्डको नाममा भोट माग्नेहरूको दायित्वबारे कडा शब्दमा भने, “गोर्खाल्याण्डको नाममा भोट माग्नेहरूको दायित्व गोर्खाल्याण्ड ल्याउनु हो। यदि गोर्खाल्याण्ड ल्याउनु सक्दैनौँ भनेर भन्छौं भने हामी भागोप्रमोले अलग सोच राख्नेछ।”
पार्टीको आगामी कार्यक्रमबारे जानकारी दिँदै थापाले भने, “9 तारिख भागोप्रमोको स्थापना दिवस हो। घर छाडेर जानेहरू पनि स्थापना दिवसमा आउन सक्नुहुनेछ। तपाईँहरूले पनि भागोप्रमो पार्टीलाई खडा गर्नुमा ठूलो योगदान दिनुभएको छ।” थापाले पहाडका राजनीतिक दलहरूको अवस्थाबारे गम्भीर टिप्पणी गर्दै भने, “पहाडको कुनै पनि राजनीतिक दलहरू आफ्नो भरमा अनि आफ्नो खुट्टामा उभिएको छैन रहेछ। हामी आफ्नो भरमा अनि आफ्नै खुट्टामा उभिने छौं।”
बङ्गाल विभाजनको विषयमा उनले भने, “बङ्गालका सबै मुख्यमन्त्रीहरूले बङ्गाल विभाजन हुँदैन नै भने। तर मुख्यमन्त्रीले विभाजन हुँदैन भन्दैमा रोकिनु हुँदैन। अब पनि गोर्खा एक भएर उभिन सकेन भने गोर्खाको सपना सपना नै भएर रहनेछ।” थापाले आफ्नो पार्टीको इमानदारीबारे स्पष्ट पार्दै भने, “हामीले कहिले गोर्खाल्याण्डको नाममा भोट मागेनौ। ढाँटेर कुनै चुनाउ लडेनौ।”
उल्लेखनीय छ, अनित थापाले गत 17 जूनको दिन जीटीएको मुख्य कार्यपालको पदबाट राजीनामा दिइसकेका छन्। बीजीपीएमको छैटौं स्थापना दिवस आगामी 9 सेप्टेम्बरको दिन खरसाङमा आयोजना हुँदैछ। यो कार्यक्रम विधानसभा चुनाउपछि पहाडमा पार्टीको पहिलो प्रमुख शक्ति प्रदर्शन मानिएको छ।
हिन्दुस्थान समाचार / हनोक