टिस्टा र च्याकूङ नदीको संगमस्थलमा पैह्रोपछि जोखिम घट्यो, प्रशासनद्वारा निरन्तर निगरानी
टिस्टा र च्याकूङ नदीको संगमस्थलमा पैह्रोपछि जोखिम घट्यो


मङ्गन, 06 सेप्टेम्बर (हि.स.)। मङ्गन जिल्लामा टिस्टा र च्याकूङ नदीको संगमस्थलनजिक आज मध्यरातमा पैह्रो गएपछि जिल्ला प्रशासनले घटनास्थलको स्थलगत निरीक्षण गरी अवस्थाको मूल्याङ्कन गरेको छ। मङ्गन जिल्ला प्रशासनका तर्फबाट संयुक्त निरीक्षण टोलीले आइतबार दिउँसो थेङ सुरुङको विपरीततर्फ रहेको घटनास्थलको निरीक्षण गऱ्यो।

टोलीमा डीडीएमए मङ्गनका संयुक्त निर्देशक एवं डीपीओ कर्मा डी. भोटियासहित चुङथाङका एसडीपीओ चन्दन छेत्री तथा डीडीएमए र चुङथाङ पुलिसका अधिकारीहरू सहभागी थिए।

स्थलगत निरीक्षणका क्रममा पैह्रोका कारण थुप्रिएको माटो तथा ढुङ्गा-माटोले केही समय अवरुद्ध भएको नदीको प्राकृतिक बहाव थप खुलेको र अहिले पानी सामान्य तथा स्थिर गतिमा बगिरहेको पाइएको प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार, बिहानको तुलनामा अचानक पानीको बहाव बढ्ने वा तल्लो क्षेत्रमा आकस्मिक बाढी आउने जोखिममा उल्लेखनीय कमी आएको छ। नदी छेउछउको समग्र अवस्था हाल स्थिर र सामान्य रहेको जनाइएको छ।

नदीको जलस्तर तथा पैह्रो प्रभावित क्षेत्रमा भिरको स्थिरताको अवस्थामाथि २४ घण्टा निगरानी राख्न चुङथाङ पुलिस र डीडीएमएका टोलीहरू घटनास्थलमै खटिएका छन्। चुङथाङ पुलिसको निगरानी एसडीपीओ चन्दन छेत्रीको नेतृत्वमा भइरहेको छ।

तत्कालको जोखिममा उल्लेखनीय कमी आए पनि जनसुरक्षा प्रशासनको सर्वोच्च प्राथमिकता रहेको जनाइएको छ। तल्लो क्षेत्रमा टिस्टा नदी छेउछाउ बसोबास गर्ने नागरिकहरूलाई सतर्क रहन, नदी किनारतर्फ नजान तथा पूर्ण रूपमा सफाई तथा जोखिम न्यूनीकरणको काम सम्पन्न नभएसम्म सावधानीस्वरूप सुरक्षित र अग्लो स्थानतर्फ सर्न प्रशासनले आग्रह गरेको छ।

जिल्ला प्रशासनले टिस्टा नदीको सम्पूर्ण तल्लो क्षेत्रको निरन्तर निगरानी गरिरहेको र परिस्थितिको विकासअनुसार थप जानकारी सार्वजनिक गरिने जनाएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande