कुखुरापालन क्षेत्रलाई आत्मनिर्भर बनाउँदै किसानको आय बढाउने सरकारको लक्ष्य: मुख्यमन्त्री
कुखुरापालन क्षेत्रको दिगो विकासबारे बैठक


गान्तोक, 06 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यमा कुखुरापालन, किसानको कल्याण तथा कुखुरापालन क्षेत्रको दिगो विकासका लागि नीतिगत उपायबारे आज सम्मान भवनमा आयोजित बैठकको अध्यक्षता गरे। बैठकमा मन्त्री पुरण गुरुङ, विधायक एनबी प्रधान, विधायक अध्यक्ष सतीशचन्द्र राई, सम्बन्धित विभागका वरिष्ठ अधिकारी तथा कुखुरापालन क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

बैठकका क्रममा मुख्यमन्त्री तामाङले कुखुरापालन क्षेत्रको विकासका लागि सञ्चालन भइरहेका विभिन्न पहलहरूको समीक्षा गरे। यसअन्तर्गत बर्मेक ह्याचरीको पुनः सञ्चालन, सहुलियत दरमा डीओसी उपलब्ध गराउने व्यवस्था, कुखुरा प्रशोधन एकाइ स्थापना, पशुधन चेकपोस्टलाई सुदृढ बनाउने तथा किसानलाई सहयोग पुर्‍याउने विभिन्न कार्यक्रमहरूबारे छलफल गरिएको उनले सोशल मिडियामा जानकारी गराएका छन्।

मुख्यमन्त्रीले सम्बन्धित विभागहरूलाई कुखुरापालनमा उत्पादन तथा व्यवस्थापन प्रणालीलाई थप सुदृढ बनाउन निर्देशन दिए। साथै किसान तथा बजारसँग सम्बन्धित सरोकारवालाबीच समन्वय सुधार गर्न, सहकारी तथा किसान उत्पादक संगठनलाई प्रवर्द्धन गर्न, उत्पादनको ट्रेसबिलिटी प्रणाली बलियो बनाउन तथा कुखुरा प्रशोधन र मूल्य अभिवृद्धिका गतिविधि विस्तार गर्न पनि उनले निर्देशन दिए।

बैठकमा सरोकारवालाहरूबाट प्राप्त सुझाउहरूलाई सरकारले गम्भीरतापूर्वक विचार गर्ने आश्वासन दिँदै मुख्यमन्त्रीले प्रस्तावहरूको समीक्षा गर्न र सबै पक्षका लागि लाभदायक समग्र कार्यढाँचा तयार गर्न अनुगमन बैठक आयोजना गरिने बताए। सिक्किममा कुखुराको उत्पादन बढाउने, किसानको आय वृद्धि गर्ने, रोजगारीका अवसर विस्तार गर्ने तथा कुखुराजन्य उत्पादनमा राज्यलाई थप आत्मनिर्भर बनाउने सरकारको मुख्य प्राथमिकता रहने मुख्यमन्त्री तामाङले बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande