
गान्तोक, 06 सेप्टेम्बर (हि.स.)। नामग्याल इन्स्टिच्युट अफ टिबेटोलोजी र धर्म विभागको संयुक्त आयोजनामा तोर्मा निर्माण तथा जोगचेन रिग्जिन सोगड्रुपका धार्मिक अनुष्ठानसम्बन्धी दुईदिने कार्यशाला सम्पन्न भएको छ। ५ र ६ सेप्टेम्बरमा सागाग राब्तेनलिङ इन्चे गुम्पामा आयोजित कार्यशाला परमपूज्य छोगट्रुल तुल्कु पेमा कुन्डोलको मार्गदर्शनमा सञ्चालन गरिएको थियो।
धर्म विभागद्वारा जारी प्रेस विज्ञप्तिमा अनुसार, जोगचेन रिग्जिन सोगड्रुपलाई ग्याल्वा ल्हातसन नाम्खा जिग्मीले पवित्र झाङ ल्हारिङ निङफु गुफामा प्रकट गरेको महत्वपूर्ण पवित्र अनमोल शिक्षाका रूपमा लिइन्छ। यो परम्पराले बेयुल ड्रेमाजोङको आध्यात्मिक विरासतमा महत्वपूर्ण स्थान राख्दै आएको छ।
नामग्याल इन्स्टिच्युट अफ टिबेटोलोजी र धर्म विभागको संयुक्त आयोजनामा ६ र ७ नोभेम्बर, २०२५ मा देवराली, गान्तोकस्थित नामग्याल इन्स्टिच्युट अफ टिबेटोलोजीमा ‘रिग्जिन सोगड्रुप-बेयुल ड्रेमाजोङको आधारभूत तन्त्र विषयक राज्यस्तरीय दुईदिने सम्मेलन आयोजना गरिएको थियो। उक्त सम्मेलनमा सिक्किमका ३६ वटा गुम्पाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सम्मेलनले सिक्किममा रिग्जिन सोगड्रुप परम्पराको संरक्षण, प्रचार-प्रसार तथा निरन्तरताबारे छलफलका लागि महत्वपूर्ण मञ्च प्रदान गरेको थियो।
यसअघिको सम्मेलनबाट प्राप्त निष्कर्षका आधारमा रिग्जिन सोगड्रुप सम्मेलनको विशेषज्ञ समितिले तोर्मा निर्माण तथा धार्मिक अनुष्ठान सञ्चालनका व्यावहारिक पक्षमा केन्द्रित हुँदै कार्यशाला आयोजना गर्ने निर्णय गरेको थियो। कार्यशालामा सिक्किमका रिग्जिन सोगड्रुप परम्परा अभ्यास गर्ने १० प्रमुख गुम्पाका अनुभवी भिक्षुहरूको सहभागिता रहेको थियो।
कार्यशालाको मुख्य उद्देश्य रिग्जिन सोगड्रुप परम्परासँग सम्बन्धित तोर्मा निर्माण तथा धार्मिक अनुष्ठानको विधिलाई एकरूप र व्यवस्थित बनाउनु रहेको थियो। साथै, आगामी दोस्रो राज्यस्तरीय रिग्जिन सोगड्रुप सम्मेलनको तयारीका रूपमा पनि कार्यशालालाई महत्वपूर्ण मानिएको छ।
कार्यशालाको दोस्रो दिन धर्म विभागका मन्त्री सोनाम लामा मुख्य अतिथिका रूपमा उपस्थित थिए। मन्त्री लामाले सिक्किममा जोगचेन रिग्जिन सोगड्रुप परम्पराको महत्वमाथि प्रकाश पार्दै यो पवित्र परम्परा पुस्तौँदेखि सिक्किममा संरक्षण र अभ्यास हुँदै आएको बताए। उनले भावी पुस्ताका लागि यसको निरन्तरता र संरक्षण सुनिश्चित गर्न आवश्यक रहेकोमा जोड दिए।
उनले दिवंगत क्याब्जे डोमाङ याङथाङ रिन्पोछे तथा दिवंगत क्याब्जे ड्रोडुपचेन रिन्पोछेको अमूल्य आध्यात्मिक मार्गदर्शन तथा योगदानको स्मरण गर्दै उनीहरूको शिक्षा र समर्पित प्रयासले सिक्किममा निङ्गमा परम्पराको संरक्षणसँगै पवित्र रिग्जिन सोगड्रुप परम्पराको निरन्तरतामा महत्वपूर्ण योगदान पुर्याएको बताए।
उनले ग्याल्वा ल्हातसन छेनपोसँग सम्बन्धित आध्यात्मिक विरासत तथा रिग्जिन सोगड्रुप परम्पराको संरक्षणका लागि सिमिक लिङ्जेमा सञ्चालन भइरहेको ग्याल्वा ल्हातसन छेनपो परियोजनालाई पनि महत्वपूर्ण पहलका रूपमा उल्लेख गरे। उनले आगामी दोस्रो राज्यस्तरीय रिग्जिन सोगड्रुप सम्मेलनमा विभिन्न गुम्पाका भिक्षु तथा प्रतिनिधिहरू सहभागी भएर परम्पराको संरक्षण र निरन्तरताबारे थप छलफल गर्ने जानकारी दिए।
हिन्दुस्थान समाचार / बिशाल