सिक्किममा सरसफाई विकासलाई जलवायु लचिलोपनको दृष्टिकोणबाट अघि बढाउनु पर्छ: जितेन्द्र सिंह राजे
सचिव जितेन्द्र सिंह राजे


गान्तोक, 0७ सेप्टेम्बर (हि.स.)। दिगो सर-सफाईसम्बन्धी दुईदिने व्यापक सिक्किम प्राविधिक सिकाइ कार्यशाला सोमबार राजधानीको देवरालीस्थित राज्य पञ्चायत संसाधन केन्द्रमा शुरु भएको छ। कार्यशाला नेसनल फिकल स्लज एन्ड सेप्टेज म्यानेजमेन्ट एलायन्स, नेसनल इन्स्टिच्युट अफ अर्बन अफेयर्स र पर्वत मन्थन फोरमले राज्य शहरी विकास विभागको सहकार्यमा आयोजना गरेको हो।

कार्यशालाको उद्देश्य संस्थागत क्षमता सुदृढ गर्नु, ज्ञान आदान-प्रदानलाई सहजीकरण गर्नु तथा प्रभावकारी तरल तथा प्रयोग भइसकेको पानी प्रबन्धनका लागि नवीन उपायहरूको खोजी गर्नु रहेको छ। कार्यशालामा सरकारी विभाग, शहरी स्थानीय निकाय, प्राविधिक संस्था तथा विकास साझेदारका प्रतिनिधिहरू सहभागी छन्।

उद्घाटन सत्रको प्रमुख आकर्षणका रूपमा 'सुनौलो, समृद्ध अनि समर्थ सिक्किम: तरल र प्रयोग गरिएको पानी प्रबन्धनको मार्ग' शीर्षकको आधारभूत मूल्यांकन प्रतिवेदन सार्वजनिक गरियो।

शहरी विकास विभागका आयुक्त एवं सचिव जितेन्द्र सिंह राजेले सिक्किममा सरसफाई विकासलाई जलवायु लचिलोपनको दृष्टिकोणबाट अघि बढाउनुपर्ने आवश्यकतामा जोड दिए। उनले अनियमित वर्षा तथा पैह्रोको जोखिमजस्ता चुनौतीलाई ध्यानमा राख्दै राज्यमा दिगो सरसफाई विकासलाई प्राथमिकता दिनुपर्ने बताए। उनले सहभागीहरूलाई स्रोत व्यक्तिहरूसँग सक्रिय रूपमा अन्तरक्रिया गर्न तथा ज्ञान आदान-प्रदान र क्षमता अभिवृद्धिको मञ्चका रूपमा कार्यशालाको पूर्ण उपयोग गर्न आग्रह गरे।

कार्यशालाको पहिलो दिन उच्चस्तरीय प्राविधिक प्रस्तुति, स्थानीय तहका प्रशासनिक अनुभव तथा विशेषज्ञ प्यानल छलफलको संयोजन गरिएको थियो। पहाडी भू-भागमा सरसफाई योजना निर्माणसँग सम्बन्धित प्रणालीगत चुनौतीहरू, जसमा पैह्रोको जोखिम, अनियमित वर्षा तथा संवेदनशील जल पारिस्थितिक प्रणालीलगायत विषयलाई सम्बोधन गर्ने गरी सत्रहरू तयार पारिएका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande