
जकार्ता (इन्डोनेसिया), 0८ सेप्टेम्बर (हि.स.)। इन्डोनेसियाले अनाक क्राकाटाउ ज्वालामुखी विस्फोटबाट निस्किएको खरानीका कारण दुई दिनदेखि बन्द रहेका पाँचवटा विमानस्थल मंगलबार बिहान पुनः सञ्चालनमा ल्याएको छ। विमानस्थल बन्द हुँदा करिब २ हजार ९६१ उडान प्रभावित भएका थिए, जसमा ६२२ वटा अन्तरराष्ट्रिय उडान रहेका छन्। यसबाट करिब ३ लाख ४१ हजार यात्रु प्रभावित भएका छन्।
इन्डोनेसियाको सरकारी समाचार एजेन्सी अन्ताराका अनुसार, परिवहनमन्त्री डूडी पुरवागान्धीले सुकर्णो-हट्टा अन्तरराष्ट्रिय विमानस्थल, हलीम पेरदानकुसुमा विमानस्थल, पश्चिम जावाको बान्डुङस्थित हुसेन सास्त्रानेगारा विमानस्थल तथा बान्तन प्रान्तका दुई साना विमानस्थल मध्यरातपछि पुनः सञ्चालनमा ल्याइएको जानकारी दिए।
पुरवागान्धीले हावाको दिशा तीव्र गतिमा परिवर्तन भइरहेकाले सरकारले अझै सावधानी अपनाइरहेको बताए। उनले अनाक क्राकाटाउ छेउछाउका विमानस्थलबाट ज्वालामुखीको खरानी टाढा गएको सुनिश्चित गर्न आवश्यक रहेको बताए।
उनका अनुसार, प्रभावित विमानस्थल तथा छेउछाउको हवाई क्षेत्रको सुरक्षा जाँच पूरा गरेपछि मंगलबार स्थानीय समयअनुसार राति १२ः०१ बजीदेखि उडान सञ्चालन पुनः शुरु गरिएको हो। सोमबार दिउँसो १२ः१० बजीसम्मको पछिल्लो जानकारीअनुसार अनाक क्राकाटाउ ज्वालामुखीबाट निस्किएको खरानी करिब १५ हजार फिटको उचाइसम्म पुगेको थियो।
उडान रद्द भएका कारण प्रभावित यात्रुलाई नियमअनुसार शतप्रतिशत रकम फिर्ता गरिने पुरवागान्धीले बताए। साथै, उडान रद्द भएका कारण भिसाको अवधि सकिएपछि पनि इन्डोनेसियामा बस्न बाध्य भएका विदेशी नागरिकलाई अध्यागमनसम्बन्धी छुट प्रदान गरिने उनले जानकारी दिए।
यद्यपि, स्थानीय समयअनुसार मंगलबार बिहान १० बजीसम्म अन्य तीनवटा विमानस्थल भने बन्द नै रहेका थिए।
हिन्दुस्थान समाचार / बिशाल