
धनबाद, 08 सेप्टेम्बर (हि.स.)। जोगता थाना क्षेत्रको सिजुआ 10 नम्बरमा मङ्गलवार बिहान लगभग साढ़े पाँच बजे अचानक भएको भयानक भूधसानले क्षेत्रमा व्यापक कोकोहोलो मचियो। यस घटनामा दुई जना बच्चाहरू सहित आधा दर्जन महिलाहरू घाइते भएका छन् जसलाई अस्पतालमा भर्ती गरिएको छ भने उपचारको क्रममा एकजना बालकको मृत्यु भयो।
बताइए अनुसार मङ्गलवार बिहान अधिकांश मानिसहरू आ-आफ्नो घरमा सुतिरहेको अवस्थामा अचानक चर्को आवाजले जमीनको ठूलो भाग धस्कियो। यसरी अचानक भूमि धस्किएको कारणले मानिसहरूमा सन्त्राष फैलियो। हेर्दा-हेर्दै केही घरहरू यसको चपेटमा परेर जमीनमै समाहित भए। दुर्घटनापछि स्थानीय मानिसहरूले राहत अनि बचाउ कार्य शुरू गर्दै घाइतेहरूलाई अस्पतालमा पुऱ्याइयो।
घटनापछि घटनास्थलमा स्थानीय मानिसहरूको घुइँचो लाग्यो। स्थानीयहरूले बीसीसीएल र जिल्ला प्रशासनको विरोधमा आक्रोश व्यक्त गर्दै प्रभावित परिवारहरूलाई तत्काल पुनर्वास र उचित क्षतिपूर्ति दुने माग गरे। मानिसहरूले आरोप लगाए, क्षेत्रमा पछिल्लो लामो समयदेखिको कोइला खनन र भूमिगत गतिविधिहरू भइरहेको कारणले भूमि कमजोर भइसकेको छ। तथापि जोखिमपूर्ण क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरूको पुनर्वासको दिशामा प्रभावकारी कदम उठाइएको छैन।
घटनाको सूचना पाएपछि बाघमाराका विधायक शत्रुघ्न महतोले घटनास्थलमा पुगेर प्रभावित परिवारहरूसित भेट गरी स्थितिको जायजा लिए। विधायकले यस घटनाको लागि राज्य सरकार अनि बीसीसीएललाई जिम्मेवार ठहराउँदै भने, जोखिमपूर्ण क्षेत्रमा बसोबास गर्ने मानिसहरूको सुरक्षा तथा पुनर्वासको मामिलामा गम्भीरतापूर्वक काम गर्न आवश्यक छ।
घटनाको विरोधमा आक्रोशित मानिसहरूले कतरास-सिजुआ मुख्य मार्गलाई जाम गरिदिए। सड़क जाम भएपछि आवागमन प्रभावित भयो। स्थानीयहरू स्थायी पुनर्वास र सुरक्षाको मागमा अडिग बसे। घटनापछि सम्पूर्ण क्षेत्रमा सन्त्राषसँगसँगै आक्रोश पनि व्याप्त भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा