
नयाँ दिल्ली, 0९ सेप्टेम्बर (हि.स.)। राजस्व खुफिया निदेशनालय (डीआरआई) ले लागुऔषध तस्करी विरुद्ध सञ्चालन गरेको अभियान अन्तर्गत पछिल्लो १५ दिनमा देशभरि आठ वटा ठूलो कारबाही गर्दै लगभग ७४० किलोग्राम गाँजा, उच्च गुणस्तरको हाइड्रोपोनिक क्यानाबिस तथा चरेस जफत गरेको छ। यी घटनामा एनडीपीएस एक्ट, १९८५ अन्तर्गत १३ जनालाई पक्राउ गरिएको छ।
वित्त मन्त्रालयले बुधवार जानकारी गराए अनुसार, जफत लागुऔषधमा ७०९.६ किलोग्राम गाँजा, २४.५ किलोग्राम उच्च गुणस्तरको हाइड्रोपोनिक क्यानाबिस तथा पाँच किलोग्राम चरेस रहेको छ।
डीआरआई अधिकारीहरूले ८ सेप्टेम्बरमा रायपुर नजिकै ओल्ड धमतरी रोडमा विशाखापट्टनमबाट आउँदै गरेका दुई वटा ट्रक रोकेर तलासी लिएका थिए। ट्रकको लोडिङ क्षेत्रमा राखिएका १० वटा बोराभित्र लुकाइएका ६१ प्याकेटबाट ३७५.९५ किलोग्राम गाँजा जफत भएको थियो। दुवै ट्रक नियन्त्रणमा लिँदै चार जनालाई पक्राउ गरिएको छ। यसअघि २६ अगस्तमा रायपुर नजिकै एउटा ट्रकबाट लगभग १२४ किलोग्राम गाँजा जफत गरिएको थियो। उक्त घटनामा एक जनालाई पक्राउ गरिएको थियो।
५ र ६ सेप्टेम्बरमा भएको अर्को कारबाहीमा डीआरआईले पटना नजिकै औरंगाबाद–पटना राजमार्गमा एउटा ट्रकलाई पछ्याएर रोकेको थियो। कारबाहीका क्रममा अधिकारीहरूमाथि समेत आक्रमण भएको थियो, जसमा एक अधिकारी घाइते भएका थिए। ट्रक चालक भने घटनास्थलबाट फरार भयो। सवारीसाधनको तलासी गर्दा चालकको क्याबिन पछाड़ी बनाइएको गोप्य कक्षबाट १४०.५ किलोग्राम गाँजा जफत भएको थियो।
त्यस्तै, १ र २ सेप्टेम्बरमा पञ्जाबको लुधियाना नजिकै एउटा कारबाट लगभग ६९ किलोग्राम गाँजा जफत गरिएको थियो। उक्त गाँजा कारको भुइँमा बनाइएका विशेष गोप्य खाँचामा लुकाएर राखिएको थियो। यस घटनामा दुई जनालाई पक्राउ गरिएको छ।
३ सेप्टेम्बरमा गोरखपुर रेलवे स्टेशनमा अमरनाथ एक्सप्रेसको सामान्य डिब्बामा यात्रा गरिरहेका तीन जनाको तलासी लिँदा लगभग पाँच किलोग्राम चरेस जफत गरिएको थियो। अनुसन्धानका क्रममा उक्त चरेस नेपालबाट तस्करी गरी ल्याइएको हुनसक्ने संकेत प्राप्त भएको थियो। तीनै जना आरोपितलाई पक्राउ गरिएको छ।
पछिल्लो १५ दिनमा हैदराबाद र बेंगलुरु विमानस्थलमा भियतनामको हनोई तथा थाइल्यान्डको बैंककबाट आएका यात्रुहरूबाट छुट्टाछुट्टै कारबाहीमा लगभग २४.६ किलोग्राम उच्च शक्तिको क्यानाबिस पनि जफत गरिएको छ। यी घटनामा तीन जनालाई पक्राउ गरिएको छ।
डीआरआईले सड़क, रेल तथा हवाई मार्ग मार्फत भइरहेको लागुऔषध तस्करीमाथि निरन्तर निगरानी राखिरहेको जनाएको छ। यस्ता तस्करी सञ्जाल ध्वस्त पार्न गुप्त सूचनाका आधारमा अभियानलाई निरन्तरता दिइने पनि एजेन्सीले जनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी