खरसाङ, 01 अक्टोबर (हि.स.)। खरसाङ बजारको कुनै पनि दोकानको नजिकतिर मैला फ्याँकिएको र मैला थुप्रेको भेटिएमा खरसाङ नगरपालिकाद्वारा उक्त दोकानलाई पाँच हजार रुपियाँको जरिमाना र कानुनी कार्वाही गरिने भएको छ। उक्त कुरा डेंगु सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले बताएका छन्।
उनले खरसाङ बजारको दोकानहरू नजिकतिर मैला फ्याँकिएको भेटिएको खण्डमा पाँच हजार रुपियाँको जरिमाना लगाउने साथै कानुनी कार्वाही गरिने पनि बताएका छन्। उनले आफ्नो सम्बोधनमा खरसाङ शहरलाई सफा र स्वच्छ राख्ने दायित्व सबैको हो र दोकानेहरूले अाफ्नो दोकान परिसर सफा र स्वच्छ राखेर नै व्यवसाय गर्नु राम्रो हुने बताएका छन्।
प्रधानले जनताको असुविधालाई मध्यनजर राखेर खरसाङ नगरपालिकाद्वारा खरसाङ बजारको बाटोहरू फराकिलो पारेको तर अहिले फेरि कतिजनाले बाटोतिर दोकान राख्ने कार्य गरिरहेको र अब फेरि पुलिस प्रशासन लगाएर हटाउने कार्य गरिने जनाएका छन्। खरसाङ नगरपालिका र पश्चिम बंगाल सूचना अनि सांस्कृतिक विभाग खरसाङको संयुक्त आयोजनामा खरसाङ बजारमा डेंगु सतर्कताको लागि सचेतना कार्यक्रम जारी रहेको छ। खरसाङ बजारको विभिन्न स्थानहरूमा पुगेर सूचना सांस्कृतिक विभागको लोक प्रसार प्रकल्पका कलाकारहरूले मानिसहरूलाई डेंगु सतर्कताको लागि सचेतना गराएका छन्।
यसै क्रममा आज खरसाङ बजारको हार्ट बजार क्षेत्रमा लोक प्रसार प्रकल्पका कलाकारहरूले गीतहरू गाएर डेंगु सचेतना गराएका छन् भने खरसाङ नगरपालिकाको स्वास्थ्य अधिकारीहरू अनि आँगनवाडी कर्मीहरू उपस्थित भएर डेंगु सचेतना गराएका छन्। यस सचेतना कार्यक्रममा खरसाङ महकुमाको अधिकारीहरू, पश्चिम बंगाल सूचना अनि सांस्कृतिक विभाग खरसाङको अधिकारीहरू, खरसाङ नगरपालिकाको अधिकारीहरू र कर्मचारीहरू साथै लोक प्रसार प्रकल्पका कलाकारहरू पनि उपस्थित रहेका थिए।
हिन्दुस्थान समाचार / हनोक