जेपी नड्डाले स्वच्छ, जनमुखी, प्रगतिशील र शान्ति सिक्किमको वचन दिए
जेपी नड्डाले स्वच्छ, जनमुखी, प्रगतिशील र शान्ति सिक्किमको वचन दिए


गान्तोक, 11 अप्रेल (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) को राष्ट्रिय अध्यक्ष जेपी नड्डाले सिक्किमवासीहरूलाई देशको मुख्यधारामा सामेल हुन आह्वान गर्दै स्वच्छ, जनमुखी, प्रगतिशील र शान्ति सिक्किमको वचन दिएका छन्। राजधानीको मनन केन्द्रमा आज आयोजित चुनाउ संकल्प पत्र लोकार्पण कार्यक्रममा बोल्दै उनले यस्तो आह्वान गरेका हुन्।

हिजो अबेर राति सिक्किम आइपुगेका भाजपा अध्यक्ष नड्डाले संकल्प पत्र लोकार्पण कार्यक्रमलाई सम्बोधित गर्दै सिक्किममा भ्रष्टाचार समाप्त गर्न र राज्यको विकास सुनिश्चित गर्न मुख्यधारामा सामेल हुन आह्वान गरे। उनले भने, 'अब धेरै भयो। मुख्यधारामा आउनुहोस्। मुख्यधारा भनेको भाजपा हो। क्षेत्रीय राजनीतिक दलहरूको धेरै भयो। मुख्यधाराको पार्टीमा ध्यान दिनुहोस्। क्षेत्रीय राजनीतिक दल र भ्रष्टाचारलाई गुडबाई गर्नुहोस्।' सिक्किममा पनि कमलको फूल फुलाउन आह्वान गर्दै उनले स्वच्छ, जनमुखी, प्रगतिशील र शान्ति सिक्किमको वचन दिए।

नड्डाले भाजपालाई सरकारलाई ल्याएको खण्डमा व्यापक परिवर्तनको विश्वास दिलाउॅंदै सिक्किममा आधुनिक सुविधा सम्पन्न गाउॅं विकास गर्ने बताए। भाजपाले धारा 371एफ— को पूर्ण सुरक्षा गर्ने संकल्प लिएको छ भन्दै उनले भने, 'सिक्किममा नेशनल इन्स्टीट्यूट अफ् डिजाइन, इन्स्टीट्यूट अफ् होटल म्यानेजमेन्ट, रिजनल इन्स्टीट्यूट फर् मेडिकल साइन्सेस्, आईआईएम स्थापना गर्ने भाजपाको संकल्प छ।'

उनले सिक्किमका 15 हजार महिलाहरूलाई लखपति दिदी बनाउने र आगामी पॉंच वर्षमा 25 हजार नोकरी सृजित गर्ने संकल्प रहेको बताए। उनले रम्फूमा विश्वस्तरीय रेलवे स्टेशन निर्माण गरिने पनि जानकारी गराए। उनले हालैमा प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किमको निम्ति 55 हजार करोड़ रूपियॉंको परियोजना उद्घाटन एवं शिलान्यास गरेको पनि थप जानकारी गराए। उनले सिक्किमको विकास सुनिश्चित गर्न केन्द्रले हरेक क्षेत्रमा सहयोग एवं समर्थन गरिरहेको छ भने।

आफ्नो सम्बोधनमा भाजपा अध्यक्ष नड्डाले कांग्रेस पार्टीको तीव्र आलोचना गरे। कांग्रेसको सरकारले पूर्वोत्तरका राज्यहरूलाई बेवास्ता गरेर केवल भोटको राजनीति गरेको आरोप लगाए। तर, मोदी सरकारले पूर्वोत्तरका राज्यहरूको विकासलाई उच्च प्राथमिकता दिॅंदै लुक इस्ट, एक्ट इस्ट— को नीति अप्नाएको उनले बताए। पूर्वोत्तरका राज्यहरूलाई मोदी सरकारले विशेष ध्यान दिएर काम गरिरहेको बताउॅंदै पूर्वी भारतको विकास भए मात्र देश अगाड़ी बढ्न सक्छ भन्ने मोदी सरकारको सोच रहेको उनले अवगत गराए।

उनले विगत 10 वर्षमा पूर्वोत्तरका राज्यहरूमा विद्रोही गतिविधिहरू 71 प्रतिशत घटेको दाबी पनि गरे। उनले पूर्वोत्तरका विद्रोही समूहहरूसॅंग 11 वटा शान्ति सम्झौता गरिएको र यस अन्तर्गत 9500 विद्रोहीहरूले आत्म समर्पण गरेको जानकारी गराए। उनले विगत दश वर्षमा पूर्वोत्तरका राज्यहरूमा विकास कार्यहरूलाई अगाड़ी बढाउन भाजपा सरकारले 5 लाख करोड़ खर्च गरेको बताए। उनले सही समयमा सही निर्णय लिएको हुॅंदा आज पूर्वोत्तरमा विकास भइरहेको छ भने।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande