सिक्किम: 11औं लोकसभा र 18औं विधानसभा चुनाउको निम्ति मतदान शुरू
सिक्किम: 14औं लोकसभा र 18औं विधानसभा चुनाउको निम्ति मतदान शुरू


गान्तोक, 19 अप्रेल (हि.स.)। सिक्किममा आज (शुक्रवार) बिहान 7 बजीदेखि 11औं लोकसभा र 18औं विधानसभा चुनाउको निम्ति मतदान शुरू भएको छ। राज्यका 32 वटा विधानसभा क्षेत्रमा 6 वटा राजनीतिक पार्टीका उम्मेदवारहरू अनि 8 स्वतन्त्र उम्मेदवारगरी मोठ 146 उम्मेदवार चुनाउको मैदानमा उत्रिएका छन्। यसमध्ये 14 जना महिला उम्मेदवार रहेका छन्। राज्यका एकमात्र लोकसभा आसनको निम्ति 14 जना उम्मेदवार खड़ा भएका छन्।

राज्यका निवर्तमान मुख्यमन्त्री एवं सत्तारूढ़ दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका अध्यक्ष प्रेमसिंह तामाङ सोरेङ-च्याखुङ अनि रिनाक दुईवटा समष्टिबाट चुनाउ मैदानमा खड़ा भएका छन्। यसरी नै पूर्व मुख्यमन्त्री एवं सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) पार्टीका अध्यक्ष पवन चामलिङ पनि पोकलोक कामराङ अनि नाम्चेबुङ दुईवटा समष्टिबाट खड़ा भएका छन्। सिटिजन एक्सन पार्टी सिक्किमका प्रमुख समन्वयक गणेश कुमार राई पनि दुईवटा समष्टि मल्ली र छुजाचेनबाट खड़ा भएका छन्।

एसकेएम अनि एसडीएफ पार्टीले राज्यका 32 वटै विधानसभा अनि एउटा लोकसभाका लागि उम्मेदवारहरू खड़ा गरेका छन्। यसरी नै भारतीय जनता पार्टी (भाजपा) बाट 31 जना, सिटिजन एक्सन पार्टी (सीएपी) बाट 30 जना, सिक्किम रिपब्लिकन पार्टी (एसआरपी) बाट 1 जना, कंग्रेसबाट 12 जना अनि 8 जना स्वतन्त्र उम्मेदवार चुनाउ मैदानमा उत्रिएका छन्। भाजपा, सीएपी, एसआरपी र कंग्रेसले पनि लोकसभाका लागि उम्मेदवार खड़ा गरेका छन्।

मतदानका निम्ति राज्यभरि 573 मतदान केन्द्र स्थापित गरिएका छन्, जसमध्ये शहरी क्षेत्रमा 88 अनि ग्रामीण क्षेत्रमा 485 रहेको छ। राज्यमा मोठ 4 लाख 66 हजार 431 मतदाताहरू छन्। यीमध्ये 2 लाख 32 हजार 381 पुरुष मतदाता रहेका छन् भने 2 लाख 31 हजार 545 महिला मतदाता रहेका छन्।

चुनाउ आयोगबाट प्राप्त जानकारी अनुसार, राज्यमा 18-देखि 39 वर्षसम्म उमेर पुगेका मतदाताहरूको संख्या 2 लाख 58 हजार 382 रहेको छ भने 40-देखि 59 वर्ष उमेरका मतदाताहरूको संख्या 1 लाख 48 हजार 156 रहेको छ। यसरी नै 60-देखि 69 वर्ष उमेरका मतदाताहरूको संख्या 35 हजार 26 रहेको छ भने 70-देखि 79 वर्ष पुगेकाहरू मतदाताहरूको संख्या 16 हजार 210 रहेको छ। 3 हजार 682 मतदाता 80-देखि 84 वर्ष उमेरकाहरू छन् भने 2 हजार 473 मतदाता 85 वर्षभन्दा अधिक उमेर पुगेकाहरू छन्।

जानकारी गराइन्छ, भारतीय चुनाउ आयोगले पहिलोपल्ट 85 वर्षभन्दा अधिक उमेर पुगेका वरिष्ठ नागरिकहरू अनि 40 प्रतिशतभन्दा अधिक दिव्याङ्गहरूलाई ब्यालेट बक्समार्फत मतदान गर्ने व्यवस्था गरिएको थियो। यस वर्गमा पर्ने राज्यका मतदाताहरूले अगावै ब्यालेट बक्समार्फत मतदान गरिसकेका छन्।

मतदान आज बेलुकी पाँचबजी समापन हुनेछ। मतदान सकेपछि सबै ईभीएमहरू तोकिएको स्थानमा लगेर स्ट्रङ रूममा राखिने छ भने आगामी 2 जूनको दिन सबै राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा मात्र स्ट्रङ रूम खोलिनेछ। विधानसभा चुनाउको मतगणना 2 जूनमा हुनेछ। ईभीएम राखिएको सबै स्ट्रङ रूमहरूमा चारैतिर सीसी क्यामेरा जडान गर्नको साथै सुरक्षा बल पनि तैनात गरिएको छ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande