लोक कलाकारहरूलाई लिएर सोनादामा तीन दिवसीय कर्मशाला शुरू
Workshop-lok-kalakar


सोनादा, 27 अगस्त (हि.स.)। सोनादामा सूचना अनि सांस्कृतिक विभाग दार्जिलिङ र लोक अनि जनजाति सांस्कृतिक केन्द्र कोलकाताको संयुक्त आयोजनामा तीन दिवसीय जिल्ला स्तरीय लोक कलाकार कर्मशाला शुरु भएको छ। सोनादाको शेर्पा गुम्बामा आयोजित उक्त कर्मशाला आगामी 29 अगस्तसम्म चल्नेछ।

वार्षिक रूपमा यो कर्मशालामा दार्जिलिङ पहाड़का लोक कलाकारहरूलाई लिएर आयोजना गरिन्छ। गत वर्ष यस लोक संगीत र संस्कृति कर्मशालामा तामाङ लोक संस्कृति, मारूनी नृत्य, लेप्चा अनि अन्य लोक संस्कृतिहरूलाई प्राथमिकता दिइएको थियो। यसपाली शुरु भएको तीन दिवसीय कर्मशालामा स्याब्रो नृत्य- शेर्पा नृत्यलाई सामेल गरिएकाे छ। आज पहिलो दिनको कार्यक्रममा मुख्य अतिथिको रूपमा दार्जिलिङ महकुमा शासक रिचार्ड लेप्चा उपस्थित रहेका थिए भने विशिष्ठ अतिथिको रुपमा जीटीएको सूचना अनि सांस्कृतिक विभागका कार्यकारी सभासद अनोश थापा, सोनादा पुलिस आउट पोष्टका ओसी अमीत रोय, एसआई सेमूएल, अप्पर सोनादा ग्राम पञ्चायत प्रधान दावा तामाङ, लोवर सोनादा ग्राम पञ्चायत प्रधान बैजयन्ती तामाङ आदि उपस्थित थिए।

कार्यक्रममा शेर्पा कलाकारहरूले शेर्पा लोक संस्कृति, नृत्यहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा सूचना अनि सांस्कृतिक विभाग दार्जिलिङको डीआईसीयो खाङ्डोमा भोटियाले स्वागत सम्भाषण राखे। प्रमुख अतिथि महकुमा शासकले सरकार पहाड़को हरेक जातिको लोक संस्कृति र लोक संगीतको संरक्षण र उन्नति गराउन तयार रहेको बताए। उनले पहाड़का सबै जातिलाई आफ्नो लोक संस्कृति र लोक संगीतको उन्नति र सम्बर्द्धनाका लागि अघि आउन आह्वान् गरे। उनले यदि लोक कलाकारहरू र मानिसहरू अघि आए सरकार सहयोग गर्न तयार रहेको पनि बताए।

---------------

हिन्दुस्थान समाचार / हनोक / बिशाल


 rajesh pande