खरसाङ, 19 जनवरी (हि.स.)। खरसाङमा आइतवारदेखि बाह्रौँ संस्करणको शहीद गोल्ड कप शुरु भएको छ। उद्घाटन खेलमा आज गडवाल राईफल्स 2-1 गोलको अन्तरले विजयी बनेको छ। उद्घाटन खेल रायगञ्च एफसी र गडवाल राईफल्समाझ सम्पन्न भएको थियो।
खेलको पहिलो मिनटमा पेनल्टी सुट पाएर रायगञ्च एफसीले बढत बनाएको थियो। रायगञ्जको पक्षमा जर्सी नम्बर 10 जयहरि वर्मनले पेनल्टीमा गोल गर्दै बढत बनाएका थिए। पहिलो हाफको खेल 1-0 मा समाप्त भयो। तर दोस्रो हाफको खेलमा भने गडवाल राईफल्स गोल गर्न सफल बन्यो।
गडवाल राईफल्सको तर्फबाट 58औं मिनटमा जर्सी नम्बर 6 टीजे सिंहले गोल गरेर खेल बराबरीमा ल्याए। यसैगरी, अन्तिम समय 90औं मिनटमा गडवाल राईफल्सको जर्सी नम्बर 18 आर रजकले गोल गरेर बढत बनाउनुका साथै आफ्नो टिमको जित सुनिश्चित गरे। यस खेलमा म्यान अफ् द म्याच गडवाल राईफल्सका जर्सी नम्बर 6 टीजे सिंह चयन भएका छन्।
अर्को खेल 20 जनवरी सोमवार दार्जिलिङ पुलिस र सिलगढी युनाइटेड एफसीमाझ सम्पन्न हुनेछ। आज मुख्य अतिथिको रुपमा खरसाङ महकुमा शासक आईएएस बिन्दाबासिनी तेजा दिपक उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रुपमा खरसाङ नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, पूर्व फुटबल खेलाडी दिनेश थापा, खरसाङ फुटबल एसोसिएशनका सभापति अल्फन्स लेप्चा, सचिव सुदिप राई लगायत अन्यहरु उपस्थित रहेका थिए।
हिन्दुस्थान समाचार / हनोक