खरसाङ, 20 जनवरी (हि.स.)। खरसाङमा भइरहेको शहीद गोल्ड कप फुटबल टुर्नामेन्ट अन्तर्गत आज भएको खेलमा दार्जिलिङ पुलिस 2-0 को अन्तरले विजयी भएको छ। खरसाङ महकुमा खेलकूद संघ र जीटीएको खेलकूद अनि युवा मामिला विभागको सहयोगमा खरसाङको चानमारी खेल मैदानमा भइरहेको शहीद गोल्ड कप फुटबल टुर्नामेन्ट अन्तर्गत आज दार्जिलिङ पुलिस र युनाइटेड सिलगढीमाझ भिडन्त भयो।
यस खेलको पहिलो हाफको खेल कुनै गोलबिना नै बराबरीमा समाप्त भएको थियो। दोस्रो हाफको खेलमा भने दार्जिलिङ पुलिसले दुई गोल गर्न सफल बन्यो। दोस्रो हाफको खेलमा दार्जिलिङ पुलिसको तर्फबाट जर्सी नम्बर 26 रुड गुलिट र जर्सी नम्बर 4 आशिष देवानले गोल गरे। आजको खेलमा म्यान अफ् द म्याच दार्जिलिङ पुलिसको जर्सी नम्बर 4 आशिष देवान चयन भएका छन्।
आज मुख्य अतिथिको रुपमा आकाशवाणी खरसाङको प्रसारण निष्पादक मिङ्गमा दोर्जे लामा उपस्थित रहेका थिए। भोलि हिल फुटबल एकाडेमी खरसाङ र युनाइटेड घुम्ती स्पोर्टिङ्ग क्लबमाझ भिडन्त हुनेछ।
हिन्दुस्थान समाचार / हनोक