शहीद गोल्ड कप: दार्जिलिङ पुलिस र गढवाल राईफल्स कोलकाता सेमिफाइनल प्रवेश 
शहीद गोल्ड कप


खरसाङ, 28 जनवरी (हि.स.)। दार्जिलिङ पुलिस र गढवाल राईफल्स कोलकाता खरसाङमा भइरहेको शहीद गोल्ड कप फुटबल टुर्नामेन्टको सेमिफाइनलमा प्रवेश गरेको छ। जीटीएको युवा मामिला अनि खेलकुद विभागको सहयोगमा खरसाङ महकुमा खेलकुद संघको आयोजनामा भइरहेको शहीद गोल्ड कप फूटबल टुर्नामेण्ट अन्तर्गत आज दुईवटा क्वार्टर फाइनल खेल सम्पन्न भयो।

पहिलो खेल दार्जिलिङ पुलिस र केएफसी सिलगढीमाझ सम्पन्न भएको थियो, जसमा 90 ‌मिनटको निर्धारित समयसम्म 1-1 गोलको बराबरीमा खेल समाप्त भएपछि 30 मिनटको अतिरिक्त समयमा खेल खेलाइएको थियो। उक्त खेल पनि बराबरीमा समाप्त भएपछि पेनल्टी शुट आउट खेलाइयो, जसमा दार्जिलिङ पुलिसले प्रतिद्वन्दी दललाई 5-4 को अन्तरले खेल जितेर सेमिफाइनलमा प्रवेश गरेको छ। आगामी 30 जनवरीमा हुने पहिलो सेमिफाइनल खेलमा दार्जिलिङ पुलिसको भिडन्त हिल फुटबल एकाडेमी खरसाङसित हुनेछ।‌

आज दोस्रो क्वार्टर फाइनल खेल गढवाल राईफल्स कोलकाता र कन्काई एफसी नेपालमाझ सम्पन्न भएको थियो। यो खेल पनि 1-1 गोलको बराबरीमा समाप्त भएपछि पेनल्टी सुट आउटमा गढवाल राइफल्स कलकत्ताले प्रतिद्वन्दी दललाई 5-4 को अन्तरले खेल जितेर सेमिफाइनलमा प्रवेश गरेको छ। आगामी 31 जनवरीमा‌ हुने दोस्रो सेमिफाइनल खेलमा गढवाल राईफल्स कोलकाता र युनाइटेड दार्जिलिङमाझ भिडन्त हुनेछ।

यस शहीद गोल्ड कप फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी 2 फरवरीमा सम्पन्न हुनेछ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande