खरसाङ, 05 जनवरी (हि.स.)। युनाइटेड दार्जिलिङ एफसी तीनधारे च्यालेञ्ज कप फुटबल टुर्नामेन्टको फाइनलमा प्रवेश गरेको छ। युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएशनको आयोजनामा तीनधारेको मिठाइडाँडा खेल मैदानमा भइरहेको तीनधारे च्यालेञ्ज कप फुटबल टुर्नामेन्ट अन्तर्गत आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा युनाइटेड दार्जिलिङ एफसी र युकेएफसीमाझ भिडन्त भयो।
खेल शुरु भएको 8औं मिनटमा नै युनाइटेड दार्जिलिङको जर्सी नम्बर 9 प्रणय राईले गोल गरेर आफ्नो दललाई एक गोलको बढत दिलाएका थिए। तर, युकेएफसीको जर्सी नम्बर 11 छोगेल तामाङले 20औं मिनटमा गोल गरेर खेल 1—1 गोलको बराबरीमा ल्याए। यसको केही मिनटपछि युकेएफसीको जर्सी नम्बर 7 बीरेन प्रधानले गोल गरेर स्कोर 2-1 पुऱ्याए। पहिलो हाफको खेल 2-1 मा समाप्त भयो।
दोस्रो हाफको खेलको 47औं मिनटमा युनाइटेड दार्जिलिङको जर्सी नम्बर 10 एवं कप्तान गणेश लिम्बूले गोल गरेर फेरि खेल 2-2 गोलको बराबरीमा ल्याए। खेल बराबरीमा चलिरहेको समय युनाइटेड दार्जिलिङ एफसीको जर्सी नम्बर 7 रोनिक राईले थप एक गोल गरेर आफ्नो दलको जित सुनिश्चित गरे। प्रतिद्वन्दी दलले अन्तिम क्षणसम्म गोल हाल्न निकै प्रयास गऱ्यो, तर भाग्यले साथ दिएन।
आगामी 10 जनवरीमा सम्पन्न हुने तीनधारे च्यालेञ्ज कप फुटबल टुर्नामेन्टको फाइनल खेलमा उपाधिको लागि युनाइटेड दार्जिलिङ एफसीको भीड्न्त जर्जियन एफसी कालेबुङसित हुनेछ। आजको खेलमा म्यान अफ् द म्याच युनाइटेड एफसी दार्जिलिङको जर्सी नम्बर 7 रोनिक राई चयन भए।
आज मुख्य अतिथि खरसाङ खण्ड पञ्चायत समितिको कर्माध्यक्ष सुकमान उराव र विशिष्ट अतिथिहरू घैयाबारी दुई ग्राम पञ्चायतको पञ्चायत प्रधान भगवती प्रधान र शिवखोला ग्राम पञ्चायतको पञ्चायत प्रधान मोहनकुमार प्रधान उपस्थित रहेका थिए।
युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएशनको सचिव रञ्जित थापाले तीनधारे च्यालेञ्ज कप फुटबल टुर्नामेन्टको दुवै फाइनलिस्ट टिम प्राप्त भइसकेको र अब उपाधिको लागि आगामी 10 जनवरीमा भिडन्त हुने बताए। उनले फाइनल खेलका दिन विभिन्न सांगीतिक प्रस्तुतिहरु र प्रदर्शनी म्याचको रुपमा गर्ल्स फुटबल म्याच पनि हुने जानकारी गराए। उनले फाइनलमा दार्जिलिङ पुलिस गर्ल्स र मधुर मिलन संघ, मिलनमोड गर्ल्समाझ प्रदर्शनी खेल हुने बताए। उनले तीनधारे च्यालेञ्ज कप फुटबल टुर्नामेन्टको विजेतालाई ट्रफीससहित दुई लाख रुपियाँ र उप विजेतालाई ट्रफीसहित एक लाख रुपियाँ प्रदान गरिने बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक