सिक्किममा सहकारितामार्फत विकासका अपार सम्भावनाहरू छन्: राज्यपाल माथुर
Governor and chief minister


गान्तोक, 15 अक्टूबर (हि.स.)। राजभवनमा आज अन्तरराष्ट्रिय सहकारिता वर्ष २०२५ को अवसरमा एक भव्य समारोह आयोजना गरियो। यस वर्षको थीम सहकारिताले एक राम्रो संसार निर्माण गर्छ रहेको छ। कार्यक्रममा सिक्किमका राज्यपाल ओम प्रकाश माथुर मुख्य अतिथि तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथिको रूपमा सहभागी बनेका थिए।

यसैगरी, कार्यक्रममा सहकारिता तथा ग्रामीण विकास मन्त्री अरुण उप्रेती, नामची–सिङि्गथाङ क्षेत्रका विधायक तथा डीएसीएसका अध्यक्ष सतीशचन्द्र राई, मुख्य सचिव आर. तेलाङ, सहकारिता विभागकी पूर्व सचिव ग्लोरिया नाम्चु, सचिव जेबी थापा र अन्य विशिष्ट अतिथिहरू पनि उपस्थित थिए।

कार्यक्रमअन्तर्गत राज्यका विभिन्न सहकारी संस्थाहरूले आफ्ना उत्पादनहरूको प्रदर्शनी राखेका थिए, जसमा सिम्फेड, सिक्किम सहकारी दुग्ध उत्पादक संघ, एमपीसीएस, टेलरिङ एकाई लगायतका संस्थाहरू सहभागी भएका थिए। प्रदर्शनीमा सिक्किमका स्थानीय उत्पादनहरूको विविधता प्रस्तुत गरिएको थियो, जसको अवलोकन राज्यपाल र अन्य विशिष्ट अतिथिहरूले गरेका थिए।

राज्यपालले आफ्नो सम्बोधनमा भने, सहकारितामार्फत राम्रो संसार निर्माण गर्ने दिशामा पहिलो कदम आफ्नै गाउँबाट सुरु हुनुपर्छ। उनले गुजरात र महाराष्ट्र जस्ता राज्यहरूको उदाहरण दिँदै भने, जहाँ सहकारी संस्थाहरू सबल भए, त्यहाँ समृद्धि आफैं आइपुग्यो। जब गाउँमा सहकारी ढाँचा मजबुत हुन्छ, त्यो गाउँ आफैं सम्पन्न हुन्छ।।

उनले सिक्किममा सहकारितामार्फत विकासका अपार सम्भावनाहरू रहेको उल्लेख गर्दै विकसित गाउँ नै विकसित भारतको आधार रहेको बताए। सिक्किमको याकको दूधबाट बनेको विशिष्ट उत्पादन ‘छुर्पी’ को उदाहरण दिँदै उनले भने, यदि यसलाई उचित बजार पहुँच दिइयो भने यसको माग देश–विदेशमा व्यापक हुन सक्छ। त्यस्तै, सिक्किमका अर्गानिक उत्पादनहरूलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा अझ प्रभावकारी रूपमा प्रचार–प्रसार र बजारिकरण गर्न आवश्यक रहेको बताए।

राज्यपालले सहकारी आन्दोलनलाई अघि बढाउन महिलाको अधिकतम सहभागितामा विशेष जोड दिए। उनले भने, प्रत्येक व्यक्तिमा केही असाधारण गर्न सक्ने क्षमता हुन्छ, त्यसलाई चिन्न र प्रोत्साहित गर्नुपर्ने आवश्यकता छ। उनले सहकारिता विभागलाई नवप्रवर्तनलाई प्रवर्द्धन गर्न आग्रह गर्दै किसानहरूको सक्रिय सहभागिताले यस क्षेत्रमा नयाँ उचाइ हासिल गर्न सकिने बताए। साथै, किसान उत्पादक संगठनहरू र कृषि विज्ञान केन्द्रहरूको थप सक्रिय भूमिकाको आवश्यकता पनि उनले औंल्याए।

कार्यक्रममा तारेथाङ बहुउद्देश्यीय सहकारी समितिले सहकारी विषयमा आधारित “संगिनी नृत्य” प्रस्तुत गरेको दियो। यस क्रममा भिडियो प्रस्तुतीकरणमार्फत सहकारिता मन्त्रालयका पहलहरू प्रदर्शन गरियो साथै सहकारी गीत र एन्थम विमोचन गरियो। त्यसपछि ई–सहकारी ग्यालरी को उद्घाटन गरियो, जुन सिक्किमको सहकारी विरासतलाई आउने पुस्तालाई समर्पित गरिएको छ।

यसै क्रममा, असम लिङ्जे बहुउद्देश्यीय सहकारी समितिले राज्य सरकारको पहल ‘मेरो रूख मेरो सन्तति’ माथि आधारित एउटा लघु नाटक प्रस्तुत गरेको जानकारी राजभवनले दिएको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande