गान्तोक, 16 अक्टबर (हि.स.)। नाबार्डद्वारा 16 अक्टोबरको दिन गान्तोकमा राज्य स्तरीय ब्याङ्कर एवं हितधारकको बैठक आयोजित गरियो। बैठकको अध्यक्षता भारतीय रिजर्भ ब्याङ्क, गान्तोकका क्षेत्रीय निर्देशक थोटङ्गम जामाङले गरेका थिए। बैठकको मार्गदर्शन भारत सरकारको दूरसञ्चार विभागका उपमहानिर्देशक अनि नाबार्ड आरओद्वारा गरिएको थियो भने ओआइसी सिक्किम आरओका जीएम अजयकुमार सिन्हाको नेतृत्त्वमा रहेको टोली लगायत एसएलबीसीका अधिकारी अनि एसएफबीसहित विभिन्न ब्याङ्कका प्रतिनिधिले पनि सहभागिता जनाएका थिए। उक्त जानकारी आज पीआईबीले दिएको छ।
नाबार्ड सिक्किम आरओका एजीएम मिवाङ लोवाङले प्रतिभागीहरूलाई स्वागत जनाउँदै बैठकको उद्देश्यबारे अवगत गराए। नाबार्ड सिक्किमका जीएम/ओआइसी अजयकुमार सिन्हाले प्रतिभागीहरूसँग संवाद गर्दै देशभरी विभिन्न हितधारकको सहयोगमा वित्तीय समावेशनको पहललाई अघि बढाउन नाबार्डले निरन्तर प्रयास गरिरहेको जानकारी दिए। सुदूर इलाकामा ब्याङ्किङ सेवा पुग्न नसक्नु, राज्यको केही भागमा कमजोर इन्टरनेट तथा पर्याप्त वित्तीय साक्षरताको कमी जस्ता वित्तीय समावेशनका कमीहरू रहेको उनले बताए। ब्याङ्कहरूलाई वित्तीय समावेशन सर्वव्यापी रूपमा अङ्गीकार गर्दै एफआइएफ अन्तर्गत प्राप्त सहयोगको फाइदा उठाउन उनले ब्याङ्कहरूलाई आग्रह गरे।
दूरसञ्चार विभाग, डब्ल्युबी एलएसएका उपमहानिर्देशक एमएम उर रहमानले सिक्किम राज्यमा दूरसञ्चारको समग्र स्थितिका साथमा ब्याङ्क अनि आम जनमानसले सामना गरिरहेको इन्टरनेट कनेक्टिभिटीको प्राविधिक पक्षबारे जानकारी दिए। नाबार्डबाट एफआइएफ अन्तर्गत उपलब्ध ब्याङ्किङ प्रविधि अनि कनेक्टिभिटीका साथमा विद्युत पूर्वाधार सहयोग प्राप्त गर्न उनले ब्याङ्कहरूलाई आग्रह गरे।
भारतीय रिजर्भ ब्याङ्क, गान्तोकका क्षेत्रीय निर्देशक थोटङ्गम जामाङले आफ्नो सम्बोधनमा वित्तीय समावेशन निधि अन्तर्गत नाबार्डबाट सहयोग प्राप्त गर्न ब्याङ्कहरू किन अनिच्छुक छ भन्ने कुरा उठाए। वित्तीय समावेशन पहलमा ब्याङ्कहरूबाट आवश्यक सहभागिता नरहेकोमा उनले चिन्ता व्यक्त गरे। नसमेटिएका मानिसहरूलाई वित्तीय समावेशन अन्तर्गत ब्याङ्कहरूले समेट्नुपर्ने आवश्यकतामाथि उनले जोड दिए। यसका साथै आफ्नो गतिविधिहरू सक्रिय रूपमा नियोजित गर्दै नाबार्डबाट आवश्यकता अनुसार एफआइएफ अन्तर्गत सहयोग लिन पनि उनले सुझाउ दिए। एफआइएफ अन्तर्गत सक्दो चाँडो सहयोग प्राप्त गर्न एक-अर्कासँग नजिकबाट तालमेल राख्दै काम गर्न पनि उनले सबै हितधारकलाई आग्रह गरे।
क्षेत्रीय कार्यालयका एएम सम्यक जैनले वित्तीय समावेशन निधि अन्तर्गत उपलब्ध योजना, अनुमोदनको प्रक्रिया तथा वितरण, सिक्किमा कार्यान्वित योजनाहरूका साथै वित्त वर्ष 2025-26 को निम्ति आरओको प्रमुख केन्द्रित क्षेत्रबारे विस्तृत प्रस्तुति दिए। ब्याङ्कहरूले आफ्नो अनुभव साझा ग्रदै वित्तीय समावेशन निधि अन्तर्गत उपलब्ध सहयोग प्राप्त गर्न इच्छा व्यक्त गरे। बैठकको समापन नाबार्डका डीजीएम अनिलकुमार यादवको धन्यवाद ज्ञापनसँगै भएको थियो।
हिन्दुस्थान समाचार / बिशाल