गान्तोक, 16 अक्टबर (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको हिजो बुधवार नाम्चीस्थित राेज गार्डनमा एक महत्त्वपूर्ण सभा पार्टी अध्यक्ष पवन चामलिङको अध्यक्षतामा सम्पन्न भयो। सभामा राज्यका सबै जिल्लाबाट पार्टी पदाधिकारीहरू र कार्यकर्ता उपस्थित रहेका थिए।
सभामा एसडीएफ पार्टीले अब सिक्किमको नवनिर्माणमा लाग्ने निर्णय लिएको जानकारी नाम्ची जिल्ला अध्यक्ष रमेश किरातले आज प्रेस विज्ञप्तिमा बताएका छन्। उनले भनेका छन्, सिक्किम भारतमा विलय हुॅंदा भारत र सिक्किमबीच भएको सम्झौता यथावत रहनुपर्छ भन्ने विषयमा एसडीएफ अडिग रहेको छ र भविष्यमा पनि अडिग रहनेछ। राज्यमा केन्द्रिय कानुन लागु गरिॅंदा राज्यको हित हेरेर मात्र लागू गरिनुपर्छ, यसाे गरिएन भने यहाँको आमजनता लगायत भाैगोलिक समस्या उत्पन्न हुनेछ।
उनले एसकेएम पार्टीका कारण 2018 मा लिम्बू र तामाङले पाइसकेको राजनीतिक अधिकार राेकिएकाे आरोप लगाएका छन्। वर्तमान सरकारले आफ्नो बजेटको आँकडा उच्च देखाए तापनि जनताको नाममा कुनै ठाेस काम हुन नसकेको पनि उनले बताएका छन्। उनले राज्यमा भ्रष्टाचारले सीमा नाघेको आरोप लगाउॅंदै भ्रष्टाचार रोक्ने नारा लिएर बनेको सरकार अहिले आफै भ्रष्टाचारमा डुबेकाे पनि आरोप लगाएका छन्।
उनले सिक्किममा एसकेएम पार्टीको सरकार आएपछि विपक्षी राजनीतिक दलका समर्थक अनि कार्यकर्ताहरुमाथि अत्याचार बढेर गएको बताएका छन्। उनले अब अत्याचार सहेर बस्नु नरहुने र एकजुट भएर मैदानमा अघि आउनुपर्ने विषयमाथि पनि बैठकमा छलफल भएको बताएका छन्।
हिन्दुस्थान समाचार / बिशाल