जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानद्वारा पैह्रोले प्रभावित चन्द्रमानधुरा राहत शिविरमा तिहार उपहार वितरण
Chandramani dhura relief camp


सोनादा, 21 अक्टूबर (हि.स.)। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका डेपुटी चियरमेन एवं क्षेत्रीय सभासद राजेस चौहान, लोवर सोनादा दुई पञ्चायत प्रधान रेखा तामाङ, स्थानीय पञ्चायत सदस्य सुजय राई र संयुक्त खण्ड विकास अधिकारी ए. दत्ता ब्यानर्जी, सोनादा पुलिस थानाको अफिसर इन चार्ज योगेश ठकुरीको विशेष उपस्थितिमा पैह्रोले प्रभावित चन्द्रमानधुरा राहत शिविरमा भ्रमण तथा तिहार उपहार वितरण कार्यक्रम सम्पन्न भयो।

उक्त अवसरमा शिविरमा बसोबास गरिरहेका पीडित परिवारहरूलाई तिहार पर्वको शुभकामनासहित उपहार वितरण गरियो।

तिहारको पावन अवसरमा गरिएको यस प्रकारको सहयोगले राहत शिविरमा रहेका नागरिकहरूलाई मानसिक र सामाजिक रूपमा सशक्त बनाउने कार्यमा टेवा पुर्‍याउने विश्वास डेपुटी चेयरम्यान एवं क्षेत्रीय सभासद राजेस चौहानले व्यक्त गरेका छन्।

चौहानले गत 4 अक्टोबरमा गएको भीषण पैह्रोका कारण प्रभावित 29 परिवारहरुलाई तत्काल अस्थायी शिविरमा सुरक्षित स्थानान्तरण गरेर चन्द्रमानधुरा राहत शिविरमा बसोबासको व्यवस्था गरिएको बताउँदै गत 5 अक्टोबरमा शिविर स्थापना भएदेखि नै गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (जीटीए) तथा जिल्ला प्रशासन पूर्ण रूपमा शिविरप्रति प्रतिबद्ध रही राहत र व्यवस्थापन कार्यमा संलग्न रहेको बताए। चौहानले अघि भने, चन्द्रमानधुरा राहत शिविरमा बसोबास गरिरहेका 29 पैह्रो पीडित परिवारहरुलाई जीटीए र जिल्ला प्रशासनको सक्रिय सहभागितामा प्रारम्भिक राहत तथा आधारभूत सेवा प्रदान गरिएको छ। यद्यपि दीर्घकालीन समाधानको लागि पुनःस्थापनाको योजना जीटीए अनि जिल्ला प्रशासनले तयार गरिरहेको छ।

उनले अझ भने, जीटीए र जिल्ला प्रशासनको समन्वयमा शिविर व्यवस्थापन सुचारु गरिएको अनि नियमित अनुगमन तथा आपूर्ति सुनिश्चित गरिएको छ। साथै, राहत वितरण पारदर्शी ढंगले सञ्चालित भइरहेको छ।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande