नागाल्याण्डका विभिन्न जातीय संघ संस्थाका प्रतिनिधिहरुसँग गोर्खाल्याण्ड एक्टीभिष्ट समूहको अन्तरक्रिया
नागाल्याण्डका विभिन्न जातीय संघ संस्थाका प्रतिनिधिहरुसँग गोर्खाल्याण्ड एक्टीभिष्ट समूहको अन्तरक्रिया


खरसाङ, 30 अक्टोबर (हि.स.)। उत्तर पूर्वी राज्यहरूको भ्रमणको तेस्रो दिन नागाल्याण्डको राजधानी कोहिमाको गोर्खा पब्लिक पञ्चायत हलमा कोहिमाको विभिन्न संघ संस्थाको प्रतिनिधिहरूसँग गोर्खाल्याण्ड एक्टिभिष्ट समूहका प्रतिनिधिहरूले विचार विमर्श गरेका छन्।

उपस्थित प्रतिनिधिहरूले नागाल्याण्डका गोर्खाहरूको निम्ति पनि गोर्खाल्याण्ड आवश्यक रहेको तर विगतका गोर्खाल्याण्ड आन्दोलनहरुमा धेरै सहयोग पुऱ्याउँदा पनि आन्दोलनलाई सम्झौतामा लगेर टुङ्ग्याएको तितो अनुभव साझा गर्दै यदि गोर्खाल्याण्डको निम्ति आज पनि कसैले ईमान्दारपूर्वक गोर्खाल्याण्डको आन्दोलनलाई अघि बढाउँछ भने आफुहरु अझैं पनि सघाउन तयार रहेको बताए।

उपस्थित प्रतिनिधिहरूले विशेष गरेर दार्जिलिङका गोर्खाहरू आफै विभाजनमा रहनु नै गोर्खाल्याण्ड गठनको निम्ति बाधा हो भन्ने जनाउँदै पहिले दार्जीलिङका गोर्खाहरु नै एकिकृत बन्नु पर्ने सुझाउ राखे। आन्दोलन दार्जिलिङबाटै उठ्नु पर्ने भएकोले दार्जिलिङले दह्रोसँगले आन्दोलनलाई अघि बढ़ाउनु पर्छ। दार्जिलिङका गोर्खाहरु एक बनेर गोर्खाल्याण्डको आवाज चर्काउनु पर्छ। दार्जिलिङले जब जब पनि गोर्खाल्याण्डको आवाज उठाएको छ तब तब नै दार्जिलिङ बाहिरका गोर्खाहरु विशेष गरेर उत्तर पूर्वी भारतका गोर्खाहरुले भ्याए जति सब कुरा दिएरै सघाएका छन्। तर जहिल्यै पनि आन्दोलन टुङ्गोमा नपुऱ्याई सम्झौता गरेकोले हाम्रो मनमा आघात पुगेको छ', उपस्थित संघ संस्थाका प्रतिनिधिहरुले यसरी आफ्ना कुराहरू राखे।

तथापि गोर्खाल्याण्ड एक्टीभिष्ट समूहले नयाँ वैचारिक धारामा आन्दोलनलाई अघि बढाउने पहल शुरु गरेकोले नयाँ आशा पनि पलाएको उनीहरूले आशा व्यक्त गरे। सबैले नै गोर्खाल्याण्डको कुरा गर्न छोड़ेको यो बेलामा एक्टीभिष्ट समूहले गोर्खाल्याण्डको आवाज लिएर उत्तर पूर्वी भारतको भ्रमण गरेको पहललाई सकारात्मक अनि उचित ठहर गर्दै स्वागत पनि जनाएको जानकारी प्राप्त भएको छ।

मणिपुरमा जस्तै नागाल्याण्डका गोर्खाहरुलाई पनि असुरक्षाको भय एवम् त्रासले सताइरहेको र धेरै जसो गोर्खा सन्तानहरु आफ्नो ठाउँ छोड़ेर पलायन हुनु परेको बताउँदै गोर्खाल्याण्ड भएको खण्डमा यो पीड़ाबाट मुक्त हुन सकिने कुरा जनाए। सभामा अल नागाल्याण्ड गोर्खा स्टुडेन्ट युनियनका अध्यक्ष जोन ठकुरी, चाँदमारी गोर्खा युनियनका सचिव समिर थापा, गोर्खा पब्लिक पञ्चायतका सचिव जीवन प्रधान, नागाल्याण्ड गोर्खा एसोसिएसनका अध्यक्ष नवीन प्रधान कोहिमा गोर्खा स्टुडेन्ट युनियनका अध्यक्ष मेघराज लामा अनि वरिष्ठ व्यक्तित्वको रूपमा डा. बुद्धि लामाले आ-आफ्नो विचार राखे।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande