सोनादा उच्चत्तर माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोह सम्पन्न
सोनादा उच्चत्तर माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोह सम्पन्न


विद्यालयको अडिटोरियम बनाइदिने अनित थापाले दिए वचन

सोनादा, 30 अक्टोबर (हि.स.)। सोनादा उच्चत्तर माध्यमिक विद्यालयले 50 वर्ष पुगेको अवसरमा वर्षव्यापी रुपमा आयोजना भएको स्वर्ण जयन्ती समारोहको आज समापन भएको छ। सोनादाको गोदाबारीस्थित सलेशियन कलेजको खेल मैदानमा आयोजना गरिएको स्वर्ण जयन्ती समापन समारोहमा प्रमुख अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापा उपस्थित रहेका थिए।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा जीटीएका डेपुटी चेयरम्यान एवं प्राथमिक शिक्षा विभागको कार्यकारी सभासद राजेस चौहान तथा अतिथिको रुपमा एआई दार्जिलिङ रोशनी सार्की, एआई अफ् स्कूल प्रदीप सुब्बा, डीआई कूचबिहार बालिका गोले, सलेशियन कलेज सोनादाका फादर लगायत अन्यहरु उपस्थित रहेका थिए।

कार्यक्रममा सोनादा उच्चत्तर माध्यमिक विद्यालयको तर्फबाट प्रमुख अतिथि थापालाई सम्मान जनाइयो। स्वर्ण जयन्ती समापन समारोहको अवसरमा विभिन्न खेलकूद, नृत्य, गीत, इन्टर हाउस फुटबल टुर्नामेन्ट लगायत विभिन्न सांस्कृतिक कार्यक्रमहरु सम्पन्न गरियो। कार्यक्रममा अतिथि कलाकारहरु कर्म शेर्पा, उज्जवल थापा, राकेस गोले, अमन गुरुङ आदिले कार्यक्रम प्रस्तुत गरेका थिए।

जीटीएका प्रमुख कार्यपाल अनित थापाले आफ्नो सम्बोधनमा सोनादा उच्चतर माध्यमिक विद्यालयको अडिटोरियम बनाइदिने वाचा गरेका छन्। उनले भने, सोनादा उच्चतर माध्यमिक विद्यालयको गौरवमय स्वर्ण जयन्ती अवसरमा सम्पूर्ण विद्यालय परिवार, शिक्षक–शिक्षिका, कर्मचारी, विद्यार्थी, अभिभावक तथा पूर्वविद्यार्थीहरूलाई हार्दिक बधाई र मंगलकामना व्यक्त गर्दछु। यस ऐतिहासिक दिनमा तपाईहरूसित रहेर स्वर्ण जयन्ती मनाउनु पाउनु मेरो निम्ति अहोभाग्य ठानेको छु।'

अनित थापाले अघि भने, 'आधा शताब्दीको अनुपम यात्रामा यस प्रतिष्ठित शिक्षालयले ज्ञान र मूल्य–आधारित शिक्षाको उज्यालो फैलाउँदै समाजलाई प्रगतिशील सोच, उत्तरदायित्व र अनुशासनको मार्गमा अघि बढाउँदै आएको छ। भविष्यका वर्षहरूमा पनि विद्यालयले यस्तै उत्कृष्टता, नैतिकता र सेवाभावका आदर्शहरूलाई अटल रूपमा अघि बढाउँदै क्षेत्र र राष्ट्रको शैक्षिक उत्थानमा योगदान दिइरहोस् भन्ने हार्दिक शुभेच्छा टक्र्याउँदछु।'

सोनादा उच्चतर माध्यमिक विद्यालयको स्थापना सन् 1975 मा भएको थियो भने यस वर्ष 50 वर्षको गौरवमय वर्ष पूरा गरेको छ। यस विद्यालयले सोनादा क्षेत्रमा विगत 50 वर्षदेखि लगातार रुपमा शिक्षाको गरिमा र शैक्षिक उन्नतिमा मुख्य भूमिका निर्वाह गर्दै आइरहेको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande