
गान्तोक, 16 नोभेम्बर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले अन्तरराष्ट्रिय प्रेस दिवसको अवसरमा प्रेस क्लब अफ सिक्किम, जर्नलिस्ट युनियन अफ सिक्किम तथा पत्रकारिता पेशामा निरन्तर प्रतिबद्धतापूर्वक सेवा गरिरहेका सम्पूर्ण पत्रकारहरूप्रति हार्दिक सम्मान र शुभकामना व्यक्त गरेको छ।
सीएपीले आज जारी प्रेस विज्ञप्तिमा भनेको छ, 'लोकतान्त्रिक शासन प्रणालीको आत्मा भनेकै तथ्यपरख स्वतन्त्र, मर्यादित र उत्तरदायी सञ्चार माध्यम हो। निष्पक्ष सूचना तथा घटनाको प्रतिपादन गर्ने तपाईँहरूको पवित्र व्यवसायले समाजलाई जागृत, सक्षम र उत्तरदायी बनाउने कार्यमा सदैव अग्रणी भूमिका खेल्दै आएको छ। प्रत्येक खोज समाचार, अनुसन्धानात्मक रिपोर्ट, विश्लेषणात्मक प्रस्तुति तथा जन–जागरणको अभियानले लोकतन्त्रलाई बलियो बनाउने अहम योगदान पुर्याउने गर्दछ।'
सीएपीले आजको संवेदनशील सूचना–युगमा, तीव्र प्रतिस्पर्धा, डिजिटल भ्रमको चुनौती र विश्वव्यापी परिवेशका बद्लिँदो प्रवृत्तिबीच पत्रकारिताको इमान, व्यावसायिक आचार–संहिता र तथ्य–आधारित दृष्टिकोणलाई जोगाउँदै सत्य रक्षा गर्नु अत्यन्तै चुनौतीपूर्ण बनेको बताएको छ। यिनै चुनौतीहरूलाई अवसरमा बदल्दै प्रेस स्वतन्त्रता र पत्रकारिताको गरिमालाई निरन्तर उचो राख्ने पत्रकारहरूको समर्पण प्रशंसनीय मात्र होइन समाजको निम्ति प्रेरणादायी पनि रहेको बताएको छ।
सीएपीले पत्रकार समुदायको साहस, सत्यप्रतिको निष्ठा, समाजप्रतिको उत्तरदायित्व र राष्ट्रप्रतिको योगदानलाई गहिरो सम्मान व्यक्त गर्दै सत्य, पारदर्शिता र न्यायको पक्षमा उभिने पत्रकारहरूको कलम आगामी दिनहरूमा अझ बलियो, प्रभावकारी र परिवर्तनशील बन्दै जानेछ भनेर विश्वस्त व्यक्त गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल