
सोनादा, 16 नोभेम्बर (हि.स.)। सोनादामा साहित्यकार रामराज राईकृत तीनवटा कृतिहरुको एकसाथ लोकार्पण गरिएको छ। सोनादा साहित्य संस्थान एवं सोनादा डिग्री कलेजको संयुक्त तत्वाधानमा स्रष्टा रामराज राईको तीनवटा कृतिहरु 'साईका सय आदर्श, 'डाँडा घर' (कथासंग्रह) अनि 'स्मृतिदेखि स्मृतिसम्म' (निसंस्मरण) को लोकार्पण गरियो।
सोनादा साहित्य संस्थानका अध्यक्ष एवं वरिष्ठ साहित्यकार जोगेन दर्नालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार डा. जीवन नामदुङ उपस्थित थिए भने विशिष्ट अतिथिको रुपमा वरिष्ठ साहित्यकार सचेन राई दुमी, साहित्यकार गणेश बराइली, वरिष्ठ कवि सूर्य श्रेष्ठ उपस्थित थिए। स्रष्टा रामराज राईको तीनवटा कृतिहरूको विधिवत लोकार्पण प्रमुख अतिथि, विशिष्ट अतिथिहरु र स्रष्टाद्वारा गरियो।
युवा कवि नरेश कटुवालले कृतिकारको परिचय तथा कथासंग्रह डाँडा घरमाथि आफ्नो छोटो वार्ता राखे भने प्रा मेघनाथ छेत्रीले स्मृतिदेखि स्मृतिसम्म निसंस्मरण सम्बन्धि छोटो परिचय प्रस्तुत गरेका थिए। साहित्यकार सचेन राई दुमीले रामराज राईको व्यक्तित्वमाथि प्रकाश पारे भने वरिष्ठ साहित्यकार डा जीवन नामदुङले लोकार्पित कृतिहरुको निम्ति कृतिकारलाई बधाई दिए।
आफ्नो वक्तव्यमा कृतिकार रामराज राईले आफ्नो लोकार्पित तीनवटा पुस्तकहरुबारे आफ्नो उदगार प्रकट गरे एवं उपस्थित तथा सहयोगी सम्पूर्णप्रति आभार प्रकट गरे। स्मरण रहोस्, स्रष्टा रामराज राईको लोकार्पित तीनवटा कृति लगायत अहिलेसम्म जम्मा एघारवटा कृतिहरु प्रकाशित छन्। कार्यक्रममा साहित्यकार तथा सभाध्यक्ष जोगेन दर्नालले आफ्नो अध्यक्षीय सम्भाषण राखेका थिए।
कार्यक्रममा विद्यार्थी छेवाङ यल्मो (सन्त रोबर्ट्स उमा विद्यालय), श्रेया गुरुङ (सोनादा डिग्री कलेज), विवेक थापा (सोनादा डिग्री कलेज) अनि रोहन राई (शान्ति रानी उमा विद्यालय) द्वारा कविता पाठ गरियो।
सोनादा डिग्री कलेज भवनमा आयोजित उक्त कार्यक्रममा वरिष्ठ नागरिक मञ्च, नालीचौर-पचेङ साई समिति तथा सोनादा साहित्य संस्थानका पदाधिकारीवर्ग एवं सदस्यवर्गको उपस्थित थिए।
हिन्दुस्थान समाचार / हनोक