
सोनादा, 17 नोभेम्बर (हि.स.)। टुंग सन्त मेरिज समष्टि अन्तर्गत चैतेपानीमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले सार्वजनिक भवन निर्माणको लागि शिलान्यास गरेका छन्। खरसाङ सिँचाई तथा जलपथ विभाग जीटीएबाट चैतेपानीमा निर्माण हुन लागेको सार्वजनिक भवनको जीटीए प्रमुख अनित थापाको बाहुलीबाट सोमवार शिलान्यास गरिएको छ।
उक्त सार्वजनिक भवनको निर्माण कार्यले स्थानीय चैतेपानीवासीलाई धेरै सुविधा हुने बताइएको छ। जीटीए प्रमुख अनित थापाले टुंग सन्त मेरिज समष्टिकाे विभिन्न स्थानहरुमा भ्रमण गर्ने क्रममा प्रथम यसै समष्टिको चैतेपानीमा पुगेर सार्वजनिक भवनको निर्माण कार्यको लागि शिलान्यास गरे। यस सार्वजनिक भवनको शिलान्यास कार्यक्रममा टुंग सन्त मेरिज समष्टिकाे सभासद नुरी शेर्पा, सन्त मेरिज ग्राम पञ्चायत एकको पञ्चायत प्रधान रोशनहाङ सुब्बा, सन्त मेरिज ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान सहदेव तामाङ, टुंग सन्त मेरिज समष्टिकाे भागोप्रमो सचिव दिपेस तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए।
चैतेपानीमा उक्त सार्वजनिक भवन निर्माणको लागि शिलान्यासको लागि क्षेत्रीय सभासद नुरी शेर्पाले जीटीए प्रमुख अनित थापालाई स्थानीयहरु त समष्टिको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक