भाई समाजद्वारा सम्वर्द्धना समारोह सम्पन्न
सम्मान कार्यक्रम


सोनादा, 17 नोभेम्बर (हि.स.)।

दोरङ्गाहट्टा भाई समाजको तत्वावधानमा सम्बर्द्धना कार्यक्रम आयोजना गरियो। समीर छेत्रीद्वारा सञ्चालित कार्यक्रममा मुख्य अतिथिको रुपमा जीटीए सूचना एवम् सांस्कृतिक विभागका कार्यकारी सभासद अनोश थापा लगायत विशिष्ट अतिथिका रुपमा समाजका पदाधिकारीहरु उपस्थित थिए।

समाजका सदस्या गौरी थुलुङद्वारा स्वागत मन्तव्य राखिएको कार्यक्रमको थालनीमा अनुसाङ वाइबा अनि छिरिङ छोमु वाइबाद्वारा स्वागत नृत्य प्रस्तुत गरे। कार्यक्रमको पहिलो चरणमा विभिन्न कार्यक्षेत्रमा उन्नति गरिरहेका समाजका उम्दा युवाहरु अभिमन्यु छेत्री, सबनम तामाङ, मोनिका रुम्बा, दोर्जे शेर्पा, पेम दोर्जे लामा, स्वप्निल थुलुङ, महेन्द्र थुलुङ, अनिमा तामाङ, उत्सव छेत्री अनि प्रतीक्षा छेत्रीलाई युवा सम्मानद्वारा सम्मानित गरियो।

कार्यक्रमको दोस्रो चरणमा समाजका लागि योगदान पुर्याउने सक्रिय सदस्यहरुमध्ये समाज घर निर्माणका लागि भूमि दान गर्ने दाताहरु उदय वाइबा अनि सीके छेत्रीलाई पनि समाजद्वारा सम्बर्द्धना जनाइयो। यसैगरी कार्यक्रमको तेस्रो चरणमा विभिन्न बोर्ड परीक्षामा उत्कृष्ट अंक लिएर उतीर्ण हुने मेधावी विद्यार्थीहरुमा साङ्गे थिन्ले शेर्पा, अनुसाङ तामाङ, अरुणिमा राई, जास्मिन थापा, दावा छेकी तामाङ, नवाङ तामाङ अनि सचिता छेत्रीलाई सम्मान जनाइयो। यसका अतिरिक्त संगीत क्षेत्रमा योगदान पुर्‍याएका संगीतकार दिवंगत गणेश कुमार घिसिङ अनि खेलकुद क्षेत्रमा देशकै उच्च नाम उच्च राखेका म्याराथन धावक सुनिल छेत्रीलाई पनि समाजद्वारा सम्मान जनाइयो।

समारोहका मुख्य अतिथि भारप्राप्त सभासद अनोश थापाले आफ्नो सम्बोधनमा दोराङ्गाहट्टा समाजको एकता अनि कार्यको खुलेर प्रशंसा गरे। संस्थाको सक्रियताले नै समुदायलाई नयाँ दिशा र प्रेरणा दिने उनले बताए। समाजका सचिव प्रताप छेत्रीद्वारा प्रतिवेदन प्रस्तुत गरिएको कार्यक्रमलाई रसिक छेत्रीले पनि सम्बोधन गरेको कार्यक्रममा अरुणिमा राई अनि चिराग राईले गीत प्रस्तुत गरे भने रिप्साङ तामाङ, आरोही तामाङ अनि अद्विका छेत्रीले नृत्य प्रस्तुत गरेर रौनकता बढाए। समाजका सभापति सीपी छेत्रीको अध्यक्षता आयोजित कार्यक्रममा प्रमिला छेत्रीले धन्यवाद ज्ञापन गरिन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande