
सल्लाहकार मदन सिञ्चुरीसँग ट्रक एसोसिएशनको बैठक
गान्तोक, 17 नोभेम्बर (हि.स.)। राज्य सरकारको परिवहन विभागका सल्लाहकार मदन सिञ्चुरीले सिक्किम ट्रक ओनर्स एसोसिएशन र दार्जिलिङ हिल ट्रक ओनर्स एसोसिएशनका प्रतिनिधिहरूसँग आज एउटा महत्त्वपूर्ण बैठकको अध्यक्षता गरे। बैठकमा प्रतिनिधिहरूले राखेका विभिन्न कुराहरूमा विस्तृत छलफल भएको जनाइएको छ।
उत्तर सिक्किमका विभिन्न स्थानमा परेको अत्यधिक हिमपातका कारण ठूलो सङ्ख्यामा ट्रक फँसेको जानकारी गराइएपछि त्यसप्रति गम्भीर ध्यान दिँदै सल्लाहकार सिञ्चुरीले ती वाहनहरूलाई यथाशीघ्र उद्धार गर्ने आवश्यक प्रक्रिया अघि बढ़ाइने आश्वासन दिए। उनले फँसेका ट्रकहरू सुरक्षित रूपमा निकालेपछि मात्र अन्य वाहनहरूलाई सञ्चालनमा ल्याउन विभागले आग्रह गरेको समेत जानकारी दिए।
चेकपोस्टमा हुने एआई सम्बन्धी समस्याबारे पनि बैठकमा चर्चा गरिएको थियो। सहभागीहरूले आफ्ना सुझाउ र समस्या ध्यानपूर्वक सुनेर तुरुन्त पहल गरेको भन्दै सल्लाहकार सिञ्चुरीप्रति आभार व्यक्त गरे।
सभामा सीसीएस, विभागीय सचिव मनिष प्रधान, आरटीओ रोशन प्रधान, अध्यक्ष लगायत एसोसिएसनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
---------------
हिन्दुस्थान समाचार / बिशाल