नितीश कुमार 10औं पटक बने बिहारका मुख्यमन्त्री, प्रधानमन्त्री र गृहमन्त्रीको उपस्थितिमा राज्यपालले दिलाए शपथ
Nitish Kumar


पटना, २० नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह लगायत भाजपाद्वारा शासित विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थितिमा नितीश कुमारले बिहिबार पटनास्थित ऐतिहासिक गाँधी मैदानमा दशौं पटक मुख्यमन्त्री पदको शपथ लिए। राज्यपाल आरिफ मोहम्मद खानले उनलाई पद र गोपनीयताको शपथ दिलाए। नितीश कुमारसँगै भारतीय जनता पार्टी (भाजपा) को कोटाबाट सम्राट चौधरी र विजय कुमार सिन्हाले पनि पद र गोपनीयताको शपथ लिए।

आज नितीश मन्त्रिपरिषदमा जसले शपथ लिए, तिनीहरूमध्ये जमुई क्षेत्रबाट निर्वाचित श्रेयसी सिंह भाजपाको तर्फबाट युवा महिला अनुहारका रूपमा सामेल छ। त्यसैगरी अराई क्षेत्रबाट निर्वाचित रमा निषादलाई पनि मन्त्रिपरिषदमा स्थान दिइएको छ। यी दुबै नेतृहरूले पहिलोपटक मन्त्री पदको शपथ लिएका हुन्।

नितीश मन्त्रिपरिषदमा सम्राट चौधरी, विजय कुमार सिन्हा, विजय चौधरी, विजय प्रसाद यादव, श्रवण कुमार, मंगल पांडे, डा दिलीप जायसवाल, अशोक चौधरी, लेसी सिंह, मदन साहनी, नितिन नवीन, रामकृपाल यादव, संतोष कुमार सुमन, सुनील कुमार, मोहम्मद जमा खान, संजय सिंह टाइगर, अरुण शंकर प्रसाद, सुरेंद्र मेहता, नारायण प्रसाद, रमा निषाद, लाखेन्द्र कुमार रोशन, श्रेयसी सिंह, प्रमोद कुमार, संजय कुमार, संजय कुमार सिंह र दीपक प्रकाश सामेल छन्। अर्कातर्फ श्रेयसी सिंह, दीपक प्रकाश, लाखेन्द्र कुमार रोशन र रमा निषाद जस्ता नयाँ युवा अनुहारले नयाँ जोश थपेका छन्। शपथग्रहण समारोहमा मैथिली ठाकुर, सांसद तथा गायक मनोज तिवारी र भोजपुरी स्टार पवन सिंहले आफ्ना प्रस्तुति दिएर भीडलाई झुम्न बाध्य पारे। यस नयाँ मन्त्रिपरिषदको सूचीमा सबै प्रमुख वर्ग र क्षेत्रलाई प्रतिनिधित्व दिने प्रयास स्पष्ट देखिन्छ। दलित, अत्यन्त पछाडिएको वर्ग, पछाडिएको वर्ग, महिला तथा अल्पसंख्यक समाजका नेताहरूलाई पर्याप्त स्थान दिइएको छ। श्रेयसी सिंह, रमा निषाद र लेसी सिंह जस्ता महिला नेतृहरूको समावेशले राजग सरकारको महिला सशक्तीकरणप्रतिको प्रतिबद्धता झल्काउँछ। त्यस्तै मोहम्मद जमा खान जस्ता अल्पसंख्यक नेताको समावेशले भाजपा-जदयू सरकारको सामाजिक सन्तुलन कायम गर्ने प्रयासलाई संकेत गर्दछ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande