
– सेना प्रमुखले द्रुत रूपमा बदलिँदो विश्व परिवेशमा भारतीय सेनालाई रूपान्तरण गर्न आवश्यक रहेको बताए
नयाँ दिल्ली, २७ नोभेम्बर (हि.स.) । मानेकशा सेन्टरमा बिहिबार आयोजित ‘चाणक्य डिफेन्स डायलग’ को उद्घाटन सत्रमा राष्ट्रपति द्रौपदी मुर्मुले भारतको सार्वभौमिकताको रक्षा गर्न उत्कृष्ट व्यावसायिकता र देशभक्तिको प्रदर्शन गर्ने भारतीय सशस्त्र बलहरूको भूमिकाको प्रशंसा गरिन्। उनले भनिन्, ‘अपरेशन सिन्धूर’ को हालैको सफलता हाम्रो काउन्टर–टेरर र रोकथाम रणनीतिमा एक महत्वपूर्ण मोड हो।
सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले भने, विश्वभर ‘दीर्घकालीन शान्ति’ घट्दै गएको छ, किनकि विश्व ‘अनिश्चित र विखण्डित संरचना’ तिर अघि बढिरहेको छ।
राष्ट्रपतिले उद्घाटन सत्रको अध्यक्षता गर्दै परम्परागत युद्ध, काउन्टर–इन्सर्जेन्सी तथा मानवीय संकटहरूमा सेनाद्वारा देखाइएको जवाफदेहिताको प्रशंसा गरिन्। उनका अनुसार, अपरेशन सिन्धूरको सफलता मात्र भारतको सैन्य क्षमता होइन, शान्तिको खोजीमा दृढ़, तर जिम्मेवार ढङ्गले अघि बढ्ने भारतको नैतिक स्पष्टताको पनि परिचायक हो।
राष्ट्रपतिले भनिन्, विश्व जियो–पोलिटिक्स शक्ति केन्द्रहरूको प्रतिस्पर्धा, प्रविधिको निरन्तर परिवर्तन र अस्थिर गठबन्धनहरूबाट नयाँ स्वरूपमा बदलिँदै गएको छ। साइबर, अन्तरिक्ष, सूचना र संज्ञानात्मक युद्धजस्ता नयाँ प्रतिस्पर्धी क्षेत्रहरूले शान्ति र टकरावबीचको रेखा धमिलो बनाइरहेका छन्।
उनले जोड दिँदै भनिन्, हाम्रो सभ्यतागत सिद्धान्त ‘वसुधैव कुटुम्बकम्’ ले यो प्रमाणित गरेको छ कि रणनीतिक स्वतन्त्रता विश्व जिम्मेवारीसँग मिलेर अघि बढ्न सक्छ। कूटनीति, अर्थतन्त्र र सशस्त्र बलहरूको संयोजनले यस्तो भारतलाई प्रस्तुत गरेको छ, जो शान्ति चाहन्छ, तर आफ्नो सीमा र नागरिकहरूको सुरक्षाका लागि दृढतापूर्वक उभिन पनि तयार छ।
राष्ट्रपतिले सेनाले ‘परिवर्तनको दशक’ अन्तर्गत आफूलाई बदल्दै लैजान गरेको प्रयासको प्रशंसा गरिन्। उनले आशा व्यक्त गर्दै यो संवादबाट प्राप्त हुने विचार र परिणामले नीति निर्माणकर्ताहरूलाई राष्ट्रिय रणनीतिका भविष्यका खाका बनाउन महत्वपूर्ण योगदान हुनेछ आशा व्यक्त गरिन्।
‘चाणक्य डिफेन्स डायलग’ को उद्घाटन कार्यक्रममा सेनाप्रमुख जनरल उपेन्द्र द्विवेदीले पनि सम्बोधन गरे। उनले भारतीय सेनामा अपेक्षित रूपान्तरणका लागि चार प्रमुख लक्ष्य उल्लेख गरे, जसबाट आगामी वर्षहरूमा सेनामा व्यापक परिवर्तन आउनेछ।
पहिलो लक्ष्य आत्मनिर्भरता र स्वदेशीकरणमार्फत सशक्तिकरण, जसमा धेरै काम अझै बाँकी रहेको उनले बताए। दोस्रो ‘स्प्रिङबोर्ड’ द्रुत नवप्रवर्तन हो। उनका अनुसार अब एआई, साइबर, क्वान्टम, स्वचालित प्रणाली, अन्तरिक्ष र एडभान्स्ड मटेरियल क्षेत्रमा प्रयोगात्मक चरण पार गर्दै उद्योग–स्तरको प्रभावसम्म द्रुत रूपमा पुग्नुपर्नेछ।
तेस्रो लक्ष्य रक्षा इकोसिस्टममा सुधार हो। उनले बताए, राष्ट्रिय आत्मनिर्भरता लक्ष्यसँग रक्षा संरचनालाई सन्तुलन गर्दै आगामी चरणलाई तीव्र बनाउन यो संवादबाट ठोस सुझाउहरूको अपेक्षा गरिएको छ। चौथो र अन्तिम ‘स्प्रिङबोर्ड’ सैन्य–नागरिक समन्वय हो। युद्ध क्षमता विकास एक बहु–एजेन्सी र बहु–आयामिक प्रयास भएको उल्लेख गर्दै उनले अकादमिक क्षेत्र, उद्योग र सेनाबीच गहिरो अन्तर–क्षेत्रीय समन्वय आवश्यक रहेको बताए।
सेनाको तीन चरणको योजना उल्लेख गर्दै उनले भने, पहिलो चरण २०३२ सम्म रहनेछ, जसमा ‘परिवर्तनको दशक’ अन्तर्गत ठूलो रूपरेखा लागू हुनेछ। दोस्रो चरण २०३२ देखि २०३७ सम्म रहनेछ, जसमा पहिलो चरणबाट प्राप्त उपलब्धिहरूलाई मजबुत बनाइनेछ। तेस्रो चरण २०३७ देखि २०४७ सम्मका लागि रहनेछ, जब सेना ‘एकीकृत भविष्य–तयार फोर्स डिजाइन’ को उन्नत चरणमा प्रवेश गर्नेछ।
जनरल द्विवेदीले भने, विश्व तीव्र रूपमा बहुध्रुवीय बन्दै गएको छ, जहाँ शक्तिशाली राष्ट्रहरू निरन्तर प्रतिस्पर्धा र संघर्षमा संलग्न छन्। यस बदलिँदो विश्व परिवेशमा निर्णायक र सदैव तयार रहन भारतीय सेनालाई कसरी रूपान्तरण गर्ने भन्ने मूल प्रश्न अहिले सबैभन्दा महत्वपूर्ण रहेको उनले स्पष्ट पारे।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी