एसपीएससी एसकेएम पार्टीको सेवा गर्ने निकाय बनेको छ: सीएपी
एसपीएससी एसकेएम पार्टीको सेवा गर्ने निकाय बनेको छ: सीएपी


गान्तोक, 28 नोभेम्बर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले हालैमा सम्पन्न भएको सिक्किम पुलिसको सब इन्स्पेक्टरको परीक्षामा व्यापक धॉंधली भएको आरोप पुन: दोहोऱ्याएको छ। सिक्किम पब्लिक सर्विस कमिशन (एसपीएससी) ले आयोजना गरेको परीक्षामा भाइभतीजावद, परिवारवाद र पार्टीवाद भएको पुख्ता प्रमाणहरू रहेको सीएपीले दाबी गरेको छ।

सीएपी प्रवक्ता अल्बर्ट गुरुङले एसपीएससीद्वारा आयोजित परीक्षाहरू जहिले पनि विवादित बन्ने गर्दछ भन्दै अब परीक्षाहरूमा धॉंधली बन्द हुनुपर्छ भनी बताए। एसपीएससीले प्रकाशित गरेका चयनित उम्मेदवारहरूको सूचीबाटै सब इन्स्पेक्टरको परीक्षामा व्यापक धॉंधली, भाइभतीजावाद, परिवारवाद र पार्टीवाद हावी भएको स्पष्ट हुन्छ भनी उनले दाबी गरे।

उनले चयनित उम्मेदवारहरूको परिचय खुलाउॅंदै अधिकांश उम्मेदवारहरू एसकेएम पार्टी, मुख्यमन्त्री र मुख्यमन्त्रीकी धर्मपत्नीको नजिकका व्यक्तिहरू रहेको आरोप लगाएका छन्। प्रवक्ता गुरुङले आफ्नो नामसमेत राम्ररी लेख्न नसक्ने व्यक्तिहरूले पनि परीक्षा उत्तीर्ण गरेको दाबी गरेका छन्। अर्कातिर, यूपीएससी परीक्षामा प्रीलिम्स पास गर्ने योग्य उम्मेदवारहरूको नाम नरहेको उनले बताएका छन्।

उनले एसपीएससी एउटा संवैधानिक निकाय रहे तापनि अहिले एसकेएम पार्टीको सेवा गर्ने निकाय बनेको आरोप लगाए। उनले एसपीएससीका चेयरमेनले नैतिक आधारमा आफ्नो पदबाट राजीनामा दिनुपर्छ भनी माग गरे। यसैगरी, उनले सब इन्स्पेक्टरको परीक्षा उत्तीर्ण गर्ने सबै उम्मेदवारहरूको मार्क्ससीट सार्वजनक गर्नुपर्छ भन्ने पनि माग गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande