
सोनादा, 07 नोभेम्बर (हि.स.)। सलेसियन कलेज (अटोनमस) सोनादाको एनएसएस युनिट–१ द्वारा ६ नोभेम्बर, २०२५ का दिन रंगबुल धोत्रे रंगमुक समष्टिको चन्द्रमानधुरा र फूलबारी क्षेत्रमा पैह्रोबाट प्रभावित परिवारहरूलाई सहयोग गर्ने उद्देश्यले राहत वितरण कार्यक्रम आयोजना गऱ्यो। यस कार्यक्रमले 4 अक्टोबरका दिनमा आएको विनाशकारी पैह्रोबाट पीडित परिवारहरूलाई राहत र सहानुभूति प्रकट गर्ने उद्देश्य राखेको थियो।
राहत टोलीको नेतृत्व उप–प्रधानाचार्य ब्रदर डा. अगस्टिन जोसेफ, कार्यक्रम अधिकृत मनीष शर्मा, र नोडल अधिकृत राकेश साइबोले गरेका थिए। उनीहरूसँगै एनएसएस स्वयंसेवकहरू र कलेजका प्रतिनिधिहरू पनि सहभागी थिए। टोलीले पैह्रो प्रभावित गाउँहरूमा पुगेर पीडितहरूसँग प्रत्यक्ष संवाद गर्दै अवस्थाको मूल्याङ्कन गर्यो र अत्यावश्यक राहत सामग्री—जसमध्ये मुख्यतया खाद्य तथा अखाद्य वस्तुहरू, कपडा, र घरायसी सामग्रीहरू वितरण गर्यो।
जसका घर पूर्ण रूपमा नष्ट भएका थिए, ती परिवारहरूलाई विशेष सहयोग प्रदान गरियो। भ्रमणका क्रममा टोलीले धेरै परिवारहरू अझै पनि आफ्नो घरबार पुनःनिर्माण गर्न संघर्षरत रहेको देख्यो, किनकि पैह्रोले ठूलो क्षति पुर्याएको थियो। यो राहत अभियान दाता, शुभेच्छुक र सेलेसियन कलेज समुदायको सहयोगबाट सम्भव भएको बताइएको छ। विशेष गरी डन बस्को बान्डेलको महत्वपूर्ण योगदानका लागि विशेष आभार प्रकट गरिएको छ।
हिन्दुस्थान समाचार / हनोक