'शेप अफ मोमो' ले कोलकाता अन्तरराष्ट्रिय फिल्म महोत्सवमा प्रतिस्पर्धा गर्दै
निर्देशक त्रिवेणी राई


गान्तोक, 07 नोभेम्बर (हि.स.)। त्रिवेणी राईको पहिलो नेपाली फिल्म ‘शेप अफ मोमो’ कोलकाता अन्तरराष्ट्रिय फिल्म महोत्सव (केआईएफएफ) मा प्रतिस्पर्धा गर्न आधिकारिक रूपमा छनोट भएको छ। महोत्सवमा भारतीय भाषा फिल्म प्रतियोगिता श्रेणीमा भारतमा प्रिमियर हुनेछ। यो महोत्सव 6 नोभेम्बरदेखि 13 नोभेम्बरसम्म भइरहेको छ।

कोलकातापछि, सिक्किमेली फिल्म निर्माताको ‘शेप अफ मोमो’ ले गोवामा हुने प्रतिष्ठित भारतीय अन्तरराष्ट्रिय फिल्म महोत्सव (आईएफएफआई) मा निर्देशक-प्रतियोगिताको सर्वश्रेष्ठ डेब्यू फिचर फिल्ममा ‘सिल्भर पिकक अवार्ड’ को लागि प्रतिस्पर्धा गर्नेछ। आगामी 20 नोभेम्बरदेखि 28 नोभेम्बरसम्म आयोजना हुने आईएफएफआई गोवामा त्रिवेणी राईलाई 'भारतीय फिचर फिल्मको सर्वश्रेष्ठ डेब्यू निर्देशक' प्रतियोगिता श्रेणीमा मनोनित गरिएको छ।

यस अतिरिक्त, आफ्नो अन्तरराष्ट्रिय यात्रालाई अझ विस्तार गर्दै 'शेप अफ मोमो' सिङ्गापुर अन्तरराष्ट्रिय फिल्म महोत्सवको लागि पनि छनोट गरिएको छ, जहाँ यसले एशियाली फिचर फिल्म प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ। फिल्मकी नायिका गौमाया गुरुङलाई पनि एशियाली फिचर फिल्म प्रतियोगितामा सर्वश्रेष्ठ प्रदर्शनको लागि मनोनित गरिएको छ। यो प्रतियोगिता आगामी 26 नोभेम्बरदेखि 7 डिसेम्बरसम्म सिङ्गापुरमा आयोजना हुनेछ।

निर्देशक त्रिवेणी राईले भनिन्, 'म धेरै खुसी छु, एक फिल्म विद्यार्थीको रूपमा म यी महोत्सवहरूमा भाग लिने गर्थे। यी ती महोत्सवहरू हुन् जसले सिनेमाप्रतिको मेरो प्रेमलाई आकार दिए र यस पटक फिल्म निर्माताको रूपमा फर्कनु अविश्वसनीय रूपमा विशेष छ।'

'शेप अफ मोमो' ले विष्णु र उनको बहु-पुस्ताका महिलाहरूको परिवारको कथा बताउँछ, जसले परम्परागत हिमाली गाउँमा सामाजिक मान्यताहरूलाई तोड्दै पहिचान, पारिवारिक बन्धन र अपेक्षाहरूलाई चुनौती दिने साहसको खोजी गछिन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande