
खरसाङ, 15 दिसम्बर (हि.स.)। खरसाङमा भूतपूर्व सैनिक संगठनको आयोजनामा अग्निवीरमा भर्ती भएकाहरुलाई सम्मान जनाउन आज एक सम्मान कार्यक्रम आयोजना गरियो। खरसाङको एक निजी होटलमा आयोजित उक्त सम्मान कार्यक्रममा विशिष्ट अतिथिको रुपमा खरसाङ महकुमा शासक आईएएस प्रिया यादव, खरसाङ नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरुङ, सभासद श्याम शेर्पा, जलपहाडबाट कर्नेल अमीत आंसरी, पवन राई, विशाल तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए।
कार्यक्रममा यसपाली अगमनिवीरमा भर्ती भएर जान लागेका अग्निवीरहरुलाई सम्मान जनाइयो। अग्निवीरमा भर्तीको लागि गोर्खा भूतपूर्व सैनिक कल्याण संगठनको आयोजनामा नि:शुल्क अग्निवीर प्रि रिक्रुटमेन्ट ट्रेनिङ दिएपछि अग्निवीरमा भर्ती भएका नानीहरुलाई सम्मान जनाइएको छ। यस ट्रेनिङमा 48 जना छोराहरु र 6 जना छोरीहरुले ट्रेनिङ लिएको र उनीहरूमा लिखित परीक्षा 47 जनाले उत्तीर्ण गरेको र अग्निवीरमा 22 जना भर्ती भएको बताइएको छ।
यसका साथै छोरीहरुमा एकजना उत्तीर्ण भएको जानकारी गराइएको छ।
यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै गोर्खा भूतपूर्व सैनिक कल्याण संगठनका सभापति कप्तान अमृत प्रधान र सचिव कप्तान अजय तामाङले गोर्खा भूतपूर्व सैनिक कल्याण संगठनको आयोजनामा नि:शुल्क अग्निवीर प्रि रिक्रुटमेन्ट ट्रेनिङ आयोजना गरिएको र यसको लागि सबैले आफ्ना छोरा छोरीलाई पनि ट्रेनिङमा पठाउन सक्ने बताए। उनीहरूल ट्रेनिङपछि अग्निवीरमा भर्ती भएर गइरहेका नानीहरु र अभिभावकहरुलाई आज सम्मान जनाइएको जानकारी गराएका छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक