
गान्तोक, 15 दिसम्बर (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) ले आज राजधानीस्थित आफ्नो मुख्यालयमा पार्टीका प्रचार प्रसार र प्रवक्ताहरूको टोलीलाई लिएर एक बैठक आयोजन गऱ्यो। पार्टीका वरिष्ठ उपाध्यक्ष कृष्ण खरेलको अगुवाईमा आयोजित बैठक सिक्किमका जनताको कल्याण र विकासका लागि लक्षित आगामी कार्यक्रम र पहलहरू केन्द्रित थियो।
पार्टीकी प्रचार प्रसार महासचिव उर्वशी खालिङ राईले बैठकमा सञ्चार रणनीतिहरूलाई सुदृढ़ पार्ने, पार्टीका विचारहरूको प्रभावकारी प्रसार र जनतामा समन्वित पहुँच बनाउने कुरामा जोड दिएको प्रेस विज्ञप्तिमा बताएकी छन्।
बैठकले एसडीएफ पार्टीको जनता केन्द्रित शासन, पारदर्शी नीतिहरू, युवा र समाजसँग सम्बन्धित मुद्दाहरूमा सक्रिय संलग्नताप्रतिको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको बताइएको छ। पार्टीका कार्यक्रम र कल्याणकारी पहलहरू समाजका हरेक वर्गमा पुग्ने कुरा सुनिश्चित गर्न एकताबद्ध भएर काम गर्ने सामूहिक संकल्पका साथ बैठक समाप्त भएको विज्ञप्तिमा उल्लेख छ।
बैठकमा पार्टी उपाध्यक्ष एवं महिला शखा प्रभारी कोमल चामलिङ, वरिष्ठ नेतृत्वहरू तथा नाम्ची जिल्ला र गान्तोक जिल्लाका सदस्यहरू सहभागी थिए।
हिन्दुस्थान समाचार / बिशाल