नेसाप सिक्किमको कार्यकारिणी समितिको नेपाल सप्ताहव्यापी साहित्यिक भेटघाट कार्यक्रम समाप्त
नेसाप


गान्तोक, 16 दिसम्बर (हि.स.)। नेपाली साहित्य परिषद्, सिक्किमको कार्यकारिणी समितिको नेपालको सप्ताहव्यापी साहित्यिक भेटघाट कार्यक्रम समाप्त भएको छ। यस टोलीको नेतृत्व परिषद्का महासचिव नीलम न्यौपानेले गरेका थिए । उक्त जानकारी आज परिषद्का प्रचार सचिव जोसेफ लेप्चाले एक प्रेस विज्ञप्तिमा दिएका छन्।

भेटघाटको कार्यक्रम अनुरूप टोलीले इटहरीमा स्वर्गीय धरणीघर दाहाल सांस्कृतिक केन्द्रको भ्रमण गर्‍यो । स्वर्गीय दाहालका पुत्र ज्ञानेन्द्र दाहालसँग भेटघाट गरी उपहार स्वरूप पुस्तक अर्पण गरेपछि टोलीले यस सांस्कृतिक केन्द्रको जानकारी लियो । स्वर्गीय दाहालले ‘सिक्किमको इतिहास’ नामक पुस्तक लेखेर प्रकाशन गरेका थिए भने मूलतः उनी सिक्किमका थिए। पछि कतिपय कारणवश उनी स्थायी रूपमा इटहरीमा बसाइँ सरेपछि यसै ठाउँबाट आफ्नो साहित्यिक यात्रालाई अघि बढ़ाए।

उनका पुत्रले पिताबाट प्रेरणा पाएर इटहरीमा मोडल स्कूलको स्थापना गरेका छन् भने वर्तमानमा उनी इटहरी इन्टरनेशनल कलेज तथा गोदावरी कलेजका निर्देशकको रूपमा कार्यरत छन् । भ्रमणको क्रममा यस टोलीले काठमाडौँमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा) सँग भेटघाट गर्‍यो।यस क्रममा टोलीले नेपाली साहित्यको विकास, संरक्षण एवम् संवर्द्धनबारे उपकुलपतिसँग विस्तृत रूपमा चर्चा–परिचर्चा गर्‍यो।

काठमाडौँको वानेश्वरस्थित श्री रत्न पुस्तकालयको पनि टोलीले परिभ्रमण गर्‍यो। यस पुस्तकालयका पदाधिकारी तथा सदस्यहरूले यस टोलीको स्वागतार्थ विशेष कार्यक्रम आयोजन गरेको थियो । यस कार्यक्रममा साहित्यको वर्तमान अवस्था बारे चचा–परिचर्चा भयो। यसरी नै काठमाडौँको नागार्जुन नगरपालिकामा एसपी आशा पुस्तकालय कक्षमा विशेष स्वागत कार्यक्रम आयोजन गरिएको थियो।

यहाँ यस टोलीले भेटघाटसँगै नेपाली साहित्य परिषद्को कार्यक्षेत्र एवम् नेपाली भाषा मान्यतामा परिषद्को भूमिकाबारे जानकारी दियो। यस टोलीले चितवनको सौराहास्थित थारू सांस्कृति केन्द्रको पनि भ्रमण गर्‍यो, जहाँ थारु जातिका सांस्कृतिक टोलीसँग अन्तरक्रिया गर्‍यो । साहित्यिक भेटघाटको क्रममा यस टोलीले पोखरास्थित गोर्खा मेमोरियल म्यूजियमको पनि भ्रमण गर्‍यो। यहाँ संग्रहालयलाई परिषद्द्वारा प्रकाशित विभिन्न पुस्तकहरू उपहार स्वरूप प्रदान गर्‍यो ।

फर्कने क्रममा काँकरीभिट्टामा त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेम प्रकाश फलाहारी तथा उपाध्यक्ष राम प्रसाद दाहालसँग भेटघाट गर्‍यो। यस क्रममा नेपाली साहित्यको विभिन्न आयाममाथि टोलीले चर्चा–परिचर्चा गर्‍यो। साहित्यिक भेटघाटको प्रत्येक कार्यक्रममा परिषद्का महासचिव न्यौपानेले परिषद्को स्थापनादेखि हालसम्मका गरिविधिहरू प्रकाश पारेका थिए। यस टोलीमा परिषद्का महासचिव न्यौपाने अतिरिक्त परिषद्का प्रचार सचिव जोसेफ लेप्चा, संयोजक रवि पौडयाल, कार्यकारिणी सदस्यद्वय पेम नर्बु शेर्पा र कुबेर विष्ट साथै परिषद्का कार्यालय सचिव चन्द्र दुलाल एवम् कार्यालय सहायक टीका ढुङ्गेल सामेल थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande