जङ्गुको लिङथेम रिक्जिङ छोपेल तारगेलिङ गुम्पामा पवित्र काग्येद छाम सम्पन्न
जङ्गुको लिङथेम रिक्जिङ छोपेल तारगेलिङ गुम्पामा पवित्र काग्येद छाम सम्पन्न


मङ्गन, 18 दिसम्बर (हि.स.)। सिक्किम सरकारको वन, पर्यावरण तथा वन्यप्राणी विभाग मन्त्री एवं क्षेत्र विधायक पिन्चो नामग्याल लेप्चा आज जङ्गुको लिङथेम रिक्जिङ छोपेल तारगेलिङ गुम्पामा आयोजित पवित्र काग्येद छाम समारोहमा सहभागी बने। मन्त्री लेप्चालाई स्थानीय गुम्पा कमिटीका सदस्यहरू, ओएसडी उगेन लेप्चा लगायत जिल्ला पञ्चायत र पञ्चायत सदस्यहरूले स्वागत जनाए।

मन्त्री लेप्चाले गुम्पामा पूजा-अर्चना गरे अनि लामाहरू र स्थानीय भक्तजनसॅंग अन्तरक्रिया गर्दै शान्ति, समृद्धि र सामुदायिक सद्भावको शुभकामना व्यक्त गरे। उनले सिक्किमको समृद्ध आध्यात्मिक र सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनको निम्ति गुम्पाका अधिकारीहरूको प्रशंसा गरे। उनले सामाजिक मूल्यमान्यता र एकतालाई सुदृढ़ पार्न यस्ता पवित्र परम्पराहरूको भूमिका स्वीकार गरे।

काग्येद छाम सिक्किमभरिका विभिन्न गुम्पाहरूमा वार्षिक रूपमा गरिने एक महत्त्वपूर्ण वज्रयान बौद्ध अनुष्ठान हो। यो नृत्य मास्क र औपचारिक पोशाकमा सजिएका दीक्षा प्राप्त लामाहरूद्वारा गरिन्छ र यसको साथमा धार्मिक सङ्गीत र प्रार्थनाहरू पनि समावेश हुन्छन्। प्रत्येक हरकत र पोशाक नकारात्मक शक्तिहरूको विनाश र सद्भावको पुनर्स्थापनाको प्रतीक हो, जसले अज्ञानता र दुष्टतामाथि बुद्धि, करुणा र धार्मिकताको विजयलाई प्रतिबिम्बित गर्दछ।

उल्लेख्य, यो वार्षिक कार्यक्रम नकारात्मक प्रभावहरूलाई रोक्न र मृत्युपछि भेटिने विश्वास गरिएका विभिन्न देवताहरूको परिचय गराउन मनाइन्छ, ताकि भक्तहरूले मध्यवर्ती अवस्थामा उनीहरूलाई चिन्न सकुन्। काग्येद छाम राज्यव्यापी रूपमा मनाइन्छ र सिक्किमका मानिसहरूका लागि यसको ठूलो धार्मिक र सांस्कृतिक महत्त्व रहिआएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande