
गान्तोक, 18 दिसम्बर (हि.स.)। मानेबुङ–देन्ताम निर्वाचन क्षेत्र अन्तर्गत सुदूर गाउँ झाँक्री ढुङ्गासम्म पुग्ने सड़क मार्गमा कालोपत्रे ओछ्याउने कार्य शुरू भएको छ। ग्रामीण विकास विभागका ओएसडी कृष्ण लेप्चाले यस कार्य जायजा लिएका छन्।
मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी नेतृत्व एवं सिक्किम सरकारको तत्परतामा पश्चिम सिक्किमको मानेबुङ–देन्ताम निर्वाचन क्षेत्र अन्तर्गत पर्ने सुदूर गाउँ झाँक्री ढुङ्गासम्म पुग्ने सडक मार्गले अन्ततः काँचुली फेर्ने अवसर पाएको ओएसडी लेप्चाले आज एक विज्ञप्तिमा बताएका छन्। देन्ताम बजार नजिकको इन्टेकबाट खनिएको यो ग्रामीण सडकले वर्षौँदेखिको प्रतिक्षापछि एसकेएम सरकारको पहलमा आज नयाँ रूप लिन थालेको उनले उल्लेख गरेका छन्।
ओएसडी लेप्चाले भने, गत केही दिनदेखि यस सड़कमा युद्धस्तरमा कार्पेटिङको काम भइरहेको छ। सड़क कार्पेटिङ शुरु भएसँगै स्थानीय गाउँबासी तथा सवारी चालकहरूको अनुहारमा खुसी प्रष्ट देखिन थालेको छ। उक्त सड़कमा अलकत्रा बिछ्याउने कार्य आरडीडी विभागअन्तर्गत पीएमजीएसवाई योजनाबाट स्वीकृत भएको हो।
ग्रामीण विकास विभागका ओएसडी लेप्चाले आज यस कार्पेटिङ कार्यको प्रगतिको स्थलगत जायजा लिए। गाउँमा भइरहेका यस्ता दिगो विकासका कामहरू जीपीयूका पञ्चायत प्रतिनिधिहरू, युवा तथा नारी शक्ति, साथै सम्बन्धित विभागका कर्मचारीहरूको सक्रिय निगरानीमा गुणस्तरीय रूपमा सम्पन्न हुनुपर्छ भन्ने कुरामा ओसडी लेप्चाले जोड दिएका छन्।
गाउँमा आएको विकासलाई दीर्घकालीन लाभ दिने दिशामा कसरी उपयोग गर्ने भन्ने जिम्मेवारी हामी सबैको हो। सबैको सहकार्य, निगरानी र जिम्मेवारीभावका साथ झाँक्रीढुङ्गा सडकलाई दीर्घकालसम्म जनताको सेवा गर्ने मार्ग बनाउनुपर्नेमा उनले विशेष जोर दिएका छन्।
हिन्दुस्थान समाचार / बिशाल