सांसद काकोली घोष दस्तीदारको परिवारका चार सदस्यलाई एसआईआर सुनवाईको नोटिस
काकोली


कोलकाता, 27 दिसम्बर (हि.स.)। तृणमूल कांग्रेसकी सांसद काकोली घोष दस्तीदारको परिवारका चार सदस्यलाई भोटर सूचीको विशेष गहन समीक्षा अर्थात् एसआईआरको सुनवाईको निम्ति चुनाउ आयोगले नोटिस पठाएको छ।

नोटिस प्राप्त गर्नेहरूमा काकोलीकी 90 वर्षीया आमा इरा मित्रा पनि छन्। उनकी बहिनी र दुई छोराहरूलाई पनि सुनवाइमा उपस्थित हुन भनिएको छ। काकोली घोष दस्तीदारले यस कदमलाई लिएर निर्वाचन आयोगमाथि अनावश्यक उत्पीड़नको आरोप लगाएकी छिन्।

पश्चिम बंगालमा शनिवारदेखि एसआईआर सुनवाइ प्रक्रिया शुरु भएको छ। आयोग सूत्रहरू अनुसार, पहिलो चरणमा, नो म्यापिङ सूचीमा नाम भएका मतदाताहरूलाई बोलाइँदैछ। यिनीहरू ती मतदाताहरू हुन् जसले गणना फारममा 2002 को मतदाता सूचीसँग आफ्नो सम्बन्ध प्रमाणित गर्न असफल भए। आयोगले अब सुनवाइको क्रममा उनीहरूको कागजातहरू जाँच गरिरहेको छ। यही प्रक्रिया अन्तर्गत सांसद काकोली घोष दस्तीदारका परिवारका सदस्यहरूलाई पनि नोटिस पठाइएको छ।

काकोलीकी आमा र बहिनी उत्तर 24 परगना जिल्लाको मध्यग्रामका मतदाता हुन् जबकि उनका दुई छोरा विश्वनाथ र वैद्यनाथ पेशाले डाक्टर र कोलकाताका मतदाता हुन्। आयोगले पठाएको नोटिसमा काकोली घोष दस्तीदारले उनलाई बोलाउने कारण स्पष्ट पारेनन्। आयोगको आलोचना गर्दै उनले भनिन्, मनमानी रूपमा मानिसहरूको नाम हटाउने वा शंकाको घेरामा राख्ने प्रयास भइरहेको छ। उनले प्रश्न गरिन्, यदि जनप्रतिनिधिहरूको परिवारमाथि यस्तो भइरहेको छ भने साधारण मानिसहरूको दुर्दशा कस्तो हुनेछ भनेर कल्पना गर्न सकिन्छ।

काकोली घोष दस्तीदारले यस विषयमा पत्रकार सम्मेलन गर्ने बताइन्। यस क्रममा उनले मतदाता सूचीसँग सम्बन्धित केही कागजातहरू पनि सार्वजनिक गर्नेछिन् र आयोगको प्रक्रियामा आफ्नो विचार राख्नेछिन्।

यो प्रक्रिया नो म्यापिङ सूचीसम्म नै सीमित नरहने बताइएको छ। आयोगले गणना फारमहरूको आधारमा लगभग 1 करोड़ 36 लाख मतदाताहरूलाई शंकास्पदको रूपमा पहिचान गरेको छ। नाम, उमेर, आमाबाबूको नाम र ठेगानाको हिज्जेमा विसंगतिहरू फेला परेका छन्। नो म्यापिङ सूचीमा सुनवाइ पूरा भएपछि यी मतदाताहरूलाई पनि बोलाउन सकिन्छ। पश्चिम बंगालमा सम्पूर्ण एसआईआर प्रक्रिया 07 फरवरीसम्म जारी रहनेछ र अन्तिम मतदाता सूची 14 फरवरीमा जारी गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande