
मुख्यमन्त्रीले माघे संक्रान्ति मेलालाई सिक्किमको प्रमुख महोत्सवको रूपमा प्रचार गर्न दिए जोड
जोरथाङ, 29 दिसम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा आज आगामी माघे संक्रान्ति मेला 2026 लाई लिएर अन्तिम समन्वय बैठक आयोजन गरियो। कारफेक्टारस्थित एसआईआरडी एवं पीआरको सम्मेलन हलमा आयोजित उक्त बैठकमा सालघारी जूम निर्वाचन क्षेत्रका विधायक एवं माघे संक्रान्ति मेलाका प्रमुख संरक्षक मदन सिन्चुरी, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, एनजेएनपीका अध्यक्ष पवित्र मानव लगायत अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।
बैठकमा मुख्यमन्त्रीलाई महोत्सवको सहज र सफल सञ्चालन सुनिश्चित गर्न कार्यान्वयन भइरहेका प्रमुख रणनीति र पहलहरूको बारेमा जानकारी गराइयो। यस क्रममा विभागीय प्रमुख र प्रतिनिधिहरूले मुख्यमन्त्रीलाई आ-आफ्नो भूमिका र तयारीको बारेमा अवगत गराए।
बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले माघे संक्रान्ति मेलालाई राज्य, राष्ट्रिय र अन्तरराष्ट्रिय मञ्चहरूमा सिक्किमको एक प्रमुख महोत्सवको रूपमा प्रचार गर्नु पर्ने आवश्यकतामा जोड दिए। उनले महोत्सवको सफलता सुनिश्चित गर्न सबै विभाग र हितधारकहरूलाई नजिक समन्वय राखेर काम गर्न आह्वान गरे।
उनले सम्बन्धित सबै बीच सन्तुलित र अनुशासित कार्य संरचना कायम राख्नुको महत्त्वमा जोड दिॅंदै स्थानीय व्यापारी र उद्यमीहरूलाई महोत्सवबाट उत्पन्न हुने अवसरहरूको अधिकतम उपयोग गरी आफ्नो व्यवसायलाई बढाउन प्रोत्साहित गरे।
माघे संक्रान्ति मेलाको 71औं संस्करण राज्यको समृद्ध सांस्कृतिक र परम्परागत विरासत प्रदर्शनमा विशेष ध्यान केन्द्रित गर्दै आगामी 14 जनवरीदेखि 22 जनवरी, 2025 सम्म जोरथाङ र नयॉं बजारमा सम्पन्न गरिने छन्। महोत्सवमा नौ दिनभरि सन्ध्या आरती हुनेछ भने शान, आशिष राणा (लाउरे), ट्राइबल रेन, १९७४ एडी जस्ता प्रख्यात कलाकारहरूका साथै स्थानीय प्रतिभाहरूद्वारा सांगीतिक कार्यक्रमहरूको प्रस्तुति रहनेछन्।
यस अतिरिक्त, गोल्डन फीट अफ् सिक्किम, गोल्डन बिट अफ् सिक्किम, गोल्डन भोइस अफ् सिक्किम लगायत सांस्कृतिक एवं खेलकुद गतिविधिहरू, आईपीआरद्वारा क्रिएटीभ हब 2.0 आदि पनि महोत्सवका मुख्य आकर्षणहरू रहेका छन्।
बैठकमा मुख्यमन्त्रीको बाहुलीद्वारा आधिकारिक मिडिया वेबसाइट, लोगो, ब्रोसर, टेबल टेन्ट र अखिल भारतीय मुख्यमन्त्री स्वर्ण कप फुटबल टुर्नामेन्टको फिक्स्चर लोकार्पण गरियो। यस अवसरमा आईपीआर विभागकी सचिव अन्नपूर्ण आले, सोरेङका जिल्लापाल धिरज सुबेदी, नाम्ची र सोरेङका वरिष्ठ पुलिस अधीक्षकहरू, मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङ आदि पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल