परिवारको आर्थिक स्थितिका कारण एमबीए पढ्न नपाएको पीडा राख्दै मुख्यमन्त्री भए भावुक
परिवारको आर्थिक स्थितिका कारण एमबीए पढ्न नपाएको पीडा राख्दै मुख्यमन्त्री भए भावुक


गान्तोक, 27 मार्च (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङ आज सिक्किम विधानसभामा चलिरहेको बजेट सत्रमा बोल्दै निकै भावुक भए। एमबीएको पढाई गर्ने आफ्नो इच्छा परिवारको आर्थिक स्थितिका कारण पूरा हुन नसकेको पीडा पोख्दै उनी भावुक बनेका थिए।

बजेट सत्रको आज तेस्रो दिन सदनमा बजेटमाथि चर्चा भयो। चर्चामा भाग लिॅंदै मन्त्री अरुण उप्रेती, विधायकद्वय लोकनाथ शर्मा र आदित्य गोलेले बजेटलाई स्वागत जनाउॅंदै आ-आफ्नो क्षेत्र सम्बन्धित कुराहरू राखेका थिए। विधानसभाका सदस्यहरूले राखेका कुराहरूमा आफ्नो प्रतिक्रिया जनाउॅंदै मुख्यमन्त्रीले राज्य सरकारद्वारा जनहितमा गरिएका विभिन्न कार्यक्रम र योजनाहरूमाथि प्रकाश पारे।

वर्तमान सरकारले शिक्षाको क्षेत्रमा धेरै महत्वपूर्ण कार्यहरू गरेको जानकारी गराउॅंदै आफ्नो परिवारको आर्थिक स्थितिका कारण राज्यका कुनै पनि विद्यार्थीहरूले पढाई छोड्नु नपरोस् भनेर सरकारले काम गरिरहेको उनले बताए।

राज्य सरकारले शुरू गरेका विभिन्न योजनाहरूका कारण आज हजारौंको संख्यामा विद्यार्थीहरूले उच्च शिक्षा हासिल गरिरहेको उनले बताए। उनले लाभार्थी विद्यार्थीहरूको नाम उल्लेख गर्दै सरकारको योजनाका कारण आज ती विद्यार्थीहरूले आफ्नो पाइलट र डाक्टर बन्ने सपना पूरा गरिरहेको बताए।

यस क्रममा मुख्यमन्त्रीले एमबीए पढ्ने आफ्नो इच्छालाई परिवारको आर्थिक स्थितिका कारण पूरा गर्नु नसकेको सदनमा जानकारी गराए। कलेजको शिक्षा पूरा गरेपछि बुबालाई आफ्नो एमबीए पढ्ने इच्छा जाहेर गर्दा बुबाले अब अगाडि पढाउन नसक्ने असमर्थता व्यक्त गरेको बताउॅंदै उनी भावुक बने। परिवारको आर्थिक स्थितिका कारण आफूले अगाडि पढ्ने इच्छालाई मारेर काम गर्न शुरू गर्नु गरेको उनले बताए।

यस अतिरिक्त, मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा वर्तमान सरकारले राज्यका चारवटा जिल्लालाई बढाएर छवटा र थप तीनवटा महकुमा बनाएको बताए। यस कारण आज सुदूर गाउॅंका जनतालाई धेरै सुविधा भइरहेको उनले बताए। पूर्व सरकारमा पनि जनताले उक्त मागहरू राखेको, तर जनताको सुनवाई नभएको उनले बताए।

यसैगरी, आमा योजना अन्तर्गत सरकारले राज्यका गरीब महिलाहरूलाई हरेक वर्ष 40 हजार रूपियॉं ब्याङ्क खातामा हालिदिने काम गरिरहेको बताए। सरकारको यस योजनाका कारण आज ​महिलाहरूले आफ्ना आवश्यकताहरूलाई पूरा गर्न ऋण लिनु पर्ने स्थिति नरहेको उनले बताए। बहिनी योजनाका कारण धेरै विद्यार्थीहरू लाभान्वित बनिरहेको उनले बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande