गान्तोक, 29 मार्च (हि.स.)। मेधावी स्किल्स युनिभर्सिटी सिक्किमको वार्षिक दीक्षान्त समारोह आज गान्तोकको चिन्तन भवनमा आयोजना गरियो। दीक्षान्त समारोहमा मुख्य अतिथिको रूपमा शिक्षा, खेलकुद तथा युवा मामिला विभागका मन्त्री राजु बस्नेत र सिक्किम सरकारका प्रमुख आर्थिक सल्लाहकार प्रो. महेन्द्र पी. लामा विशिष्ट अतिथि थिए।
कार्यक्रममा अतिथिहरूको बाहुलीद्वारा विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक उत्कृष्टताको सम्मानमा पदक प्रदान गरियो। मुख्य अतिथि मन्त्री बस्नेतले आफ्नो सम्बोधनमा डिग्री प्राप्तकर्ताहरूलाई समर्पण र इमान्दारीका साथ समाजको प्रगतिमा योगदान पुर्याउन आग्रह गरे। उनले राज्यमा पहिले लाइसेन्सधारी क्यासिनोहरू थिए, तर वर्तमान सरकारले अब विश्वविद्यालयहरूको स्थापनालाई प्राथमिकता दिइरहेको बताए। उनले राज्य सरकार सिक्किमलाई ज्ञानको केन्द्र बनाउन प्रयास गरिरहेको बताए।
उनले मुख्यमन्त्रीको दूरदर्शी नेतृत्वका कारण आज सिक्किमका प्रत्येक बालबालिकाले गुणस्तरीय शिक्षामा पहुँच पाउने अवसर पाएको बताए। मन्त्री बस्नेतले अध्ययनको लागि बाहिर यात्रा गर्नुपर्ने पहिलेको आवश्यकताको तुलनामा अहिले राज्यभित्र उच्च शिक्षा हासिल गर्ने सुविधामाथि प्रकाश पारे। उनले करियर उन्नतिको लागि व्यावहारिक सीपहरू प्राप्त गर्नु महत्त्वपूर्ण रहेको बताए।
यसैगरी, विशिष्ट अतिथि प्रो. लामाले पनि कार्यक्रमलाई सम्बोधन गर्दै युवा र आशाजनक विश्वविद्यालयका विद्यार्थीहरूलाई बधाई दिए। उनले स्नातकहरूलाई वास्तविक संसारका चुनौतीहरूको लागि राम्ररी तयारी गर्न प्रोत्साहित गरे। उनले आफ्ना आकांक्षाहरू प्राप्त गर्न अथक प्रयास गर्न आग्रह गरे।
हिन्दुस्थान समाचार / बिशाल