शब्द समयको 140 औं प्रकरण कथा सङ्गोष्ठीको रुपमा सम्पन्न: शब्द समयको संस्थापक सदस्यहरु सम्मानित
शब्द समयको 140 औं प्रकरण कथा सङ्गोष्ठीको रुपमा सम्पन्न: शब्द समयको संस्थापक सदस्यहरु सम्मानित


खरसाङ, 29 मार्च (हि.स.)। सालबारीमा विगत 12 वर्षदेखि निरन्तर चलिरहेको मासिक साहित्यिक कार्यक्रम शब्द समयको 140 औं प्रकरण कथा सङ्गोष्ठीको रुपमा सम्पन्न भएको छ। प्रत्येक महिनाको अन्तिम शनिवार आयोजना हुँदै आएको शब्द समयको 12 वर्ष पूरा गरेको छ। यस अवसरमा शब्द समयको संस्थापक सदस्यहरुलाई सम्मानित गरियो।

शब्द समयको 140 औं प्रकरण अन्तर्गत शनिवार कथा सङ्गोष्ठीको कार्यक्रमको सम्पन्न भयो। यस अन्तर्गत पहिलो चरणमा स्रष्टा सबिता गोम्देनलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो भने शब्द समयका दिवंगत सदस्यहरुलाई श्रद्धाञ्जली अर्पण गरियो।

संस्थापक सदस्य एवं वरिष्ठ साहित्यकार मोहन ठकुरीले शब्द समय सालबारीको स्थापनाको बारेमा जानकारी गराए। कार्यक्रममा शब्द समयको उद्देश्य विषयमा संस्थापक वरिष्ठ साहित्यकार ज्ञानेन्द्र खतिवडाले वक्तव्य राखेका थिए। उनले शब्द समय अन्तर्गत कविता वाचन कार्यक्रम धेरै गरिएकोले यसपाली 140 औं प्रकरण कथा सङ्गोष्ठीको रुपमा आयोजना गरिने निधो गरिएको जानकारी गराए। उनले 140 औं प्रकरणमा‌ वाचन गरिएका कथाहरुलाई लिएर कथा सङ्ग्रह प्रकाशित गरिने निधो गरिएको पनि जानकारी गराए।

कार्यक्रममा शब्द समयका संस्थापक सदस्यहरु क्रमैले मोहन ठकुरी, ज्ञानेन्द्र खतिवडा, बिजय सुब्बा, एरोन सुब्बा, शरण शरद शर्मा, अभय प्रधान, सुरज लोहार, खेमराज शर्मा आदिलाई वरिष्ठ समाजसेवी मिलन रूचालको बाहुलीबाट खदार्पणसहित स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो।

त्यसरी नै कार्यक्रममा उपस्थित नेपालबाट आएका अतिथिहरु क्रमैले चन्द्र भण्डारी, दिपक सुबेदी, विष्णु न्यौपाने आदिलाई वरिष्ठ राजनैतिक विश्लेषक डीएस बम्जनको बाहुलीबाट स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो।

कार्यक्रममा शब्द समयको विवरणिका विमोचन गरिएको छ। उक्त विवरणिकाको विमोचन डा जस योञ्जन 'प्यासी', राधारानी भण्डारी, निरु शर्मा, चन्द्र भण्डारी, कथाकार राजेन मोक्तान, मिलन रुचाल, डीएस बम्जन, दिपक सुबेदी, विष्णु न्यौपाने आदिको बाहुलीबाट गरियो।

कार्यक्रममा उपस्थित 25 जना स्रष्टाहरुले कथा वाचन गरेका थिए।‌ कार्यक्रममा पठित कथाहरुमाथि अतिथि साहित्यकार दिपक सुबेदीले समालोचकीय सम्बोधन राखे। कार्यक्रममा अतिथिहरु चन्द्र भण्डारीले आफ्नो सम्बोधनमा कथा भनेको नेपाल र भारतकै एउटै एउटै रहेको बताउँदै नेपाल र भारतको‌ नेपाली भाषीहरुको समस्याहरु एउटै रहेको बताए। उनले कथा जे लेखिन्छ त्यो भूँई मान्छेको कथा लेखिनुपर्छ जुन आफ्नै शैलीमा हुनुपर्छ र त्यो असल पनि हो भनी बताए।‌

शब्द समयको शुरुवात 25 मई, 2013 मा बुद्ध जयन्तीको दिन गरिएको थियो। शब्द समयमा सालबारी लगायत दार्जिलिङ, कालेबुङ, खरसाङ, मिरिक, डुवर्स, सिक्किम, उत्तर पूर्वाञ्चल असम लगायत नेपालसम्मका स्थापित र नवोदित सर्जकहरुले रचना पठन गरिसकेका छन्‌‌। शब्द समयको आगामी दिनमा पनि विभिन्न साहित्यिक प्रकरणहरु आयोजना गरिने भएको जानकारी प्राप्त भएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande