गान्तोक, 29 मार्च (हि.स.)। सिक्किम राज्यको खेलकूद एवम् युवा मामिला विभागको तर्फबाट विभागका अतिरिक्त निर्देशक डा. आरबी विश्वकर्माले हिजो नयाँ दिल्लीको शास्त्री भवनमा युवा मामिला एवं खेलकूद मन्त्रालयको भ्रमण गरे।
उनको नयाँ दिल्ली भ्रमणको मुख्य उद्देश्य राज्य खेलकूद विभागका मन्त्री राजु बस्नेत र विभागकी सचिव याङछेन डी. तामाङको तर्फबाट सिक्किमको राजधानी गान्तोकमा 8औं उत्तर पूर्व युवा महोत्सवको सफलतापूर्वक आयोजना गर्ने अवसरको लागि हार्दिक आभार व्यक्त गर्नु रहेको थियो। उनले मन्त्रालयका अधिकारीहरूलाई उत्तर पूर्वी राज्यका सहभागीहरूबाट अत्यधिक सकारात्मक प्रतिक्रिया प्राप्त भएको पनि जानकारी गराए।
उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा सिक्किममा कार्यान्वयन भइरहेका युवा-केन्द्रित र खेलकूद पहलहरूको बारेमा पनि जानकारी गराए। उनले वार्षिक खेलकूद प्रतियोगिता, संयुक्त प्रशिक्षण कार्यक्रम र उत्तर पूर्वी राज्यहरूका प्रशिक्षक र खेलाडीहरूको लागि क्षमता निर्माण कार्यक्रम आयोजनाको महत्त्वमाथि पनि प्रकाश पारे।
उनले केन्द्रिय मन्त्री डा. मनसुख मण्डाविया र सचिव मीता रविलोचनलाई कृतज्ञता प्रकट गर्दै स्मृति चिन्ह प्रदान गरे।
हिन्दुस्थान समाचार / प्रदीप