अमेरिकाले चीन बाहेक सबै देशमाथि लगाएको कर 90 दिनका लागि स्थगित गऱ्यो
अमेरिकी राष्ट्रपति डाेनल्ड ट्रम्प


वाशिङ्गटन, 10 अप्रेल (हि.स.)। विश्वभरबाट आलोचना भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अन्ततः पारस्परिक कर (शुल्क) बाट पछि हट्नु पऱ्यो। उनले पारस्परिक शुल्क 90 दिनको लागि स्थगित गरिएको घोषणा गरेका छन्। तर, चीनलाई यसबाट छुट दिइएको छैन। ट्रम्पको यो कदमले हिजो अमेरिकी शेयर बजारमा ठूलो उछाल ल्यायो।

द न्यु योर्क टाइम्सको रिपोर्ट अनुसार, राष्ट्रपति ट्रम्पको यस्तो अडानपछि शेयर बजारमा चमक फर्किएको छ। ट्रम्पले यो छुटमा चीन समावेश नहुने स्पष्ट पारेका छन्। यसको निर्यातमा कर दर बढाएर 125 प्रतिशत पुर्‍याइएको छ। बीजिङले अमेरिकी सामानहरूमा 84 प्रतिशतसम्म कर बढाएपछि यो निर्णय लिइएको हो।

व्हाइट हाउसले भनेको छ, टेरिफलाई घटाएर 10 प्रतिशत गरिने छ, तर यो क्यानडा र म्याक्सिकोमा लागू हुने छैन। ट्रम्पले अचानक रोकको निर्णयबारे प्रश्नको जवाफमा भने, 'ठीकै छ, मलाई लाग्यो कि मानिसहरू लाइनबाट अलि बाहिर निस्केका छन्। तर अझै केही सकिएको छैन। हामीले अन्य देशहरूबाट ठूलो उत्साह पाएका छौं। 75 भन्दा बढी देशहरू यो सम्झौताको लागि तयार छन्।'

यस सम्बन्धमा ट्रेजरी सेक्रेटरीले भने, 'यो राष्ट्रपतिको बृहत् रणनीतिको एक हिस्सा हो। ट्रम्पको कदमले गर्दा एसएण्डपी 500 ले दिनको अन्त्यमा 9.5 प्रतिशतको वृद्धि हासिल गर्‍यो, जुन अक्टोबर 2008 पछिको सबैभन्दा राम्रो दिन थियो।'

उल्लेखनीय छ, ट्रम्पको सबैभन्दा ​नजिक मानिने एलन मस्कले पनि उनलाई पारस्परिक शुल्कमाथि विचार गर्न अपील गरेका थिए। ट्रम्पले यस सम्बन्धमा आफ्नै देशमा विरोधको सामना गर्नु परिरहेको छ। अमेरिकी अरबपति बिल एकम्यानले नयॉं टेरिफलाई 90 दिनसम्म स्थगित गर्न अपील गरेका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande