मंगर संघ भारतको तर्फबाट डा भावना थापालाई सम्बर्द्धना
मंगर संघ भारतको तर्फबाट डा भावना थापालाई सम्बर्द्धना


खरसाङ, 01 जून (हि.स.)। मंगर संघ भारत खरसाङ शहरिया समितिको तर्फबाट खरसाङको माथिल्लो डुमाराम बस्ती निवासी डा. भावना थापालाई सम्बर्द्धना जनाइएको छ। पिता डम्बर थापा र माता पम्फा थापाकी सुपुत्री भावना थापाले हालैमा नर्थ इस्टर्न हिल युनिभर्सिटी, शिलङबाट भौतिक विज्ञानमा विद्यावारिधि (पीएचडी) उत्तीर्ण गरेकी थिइन्।

उनको यो उपलब्धिको लागि मंगर संघ भारत खरसाङ शहरिया समितिको तर्फबाट सम्बर्द्धना जनाइएको हो। यस अवसरमा उनलाई मुख्य अतिथिको रुपमा उपस्थित कार्यकारी सभासद एवं मंगर संघ भारतको संरक्षक रतन थापाको बाहुलीबाट फूल गुच्छा र खदार्पणसहित शल ओढाएर साथै सम्बर्द्धना पत्र प्रदान गरियो।

डा भावना थापाले आफ्नो शिक्षा खरसाङको ज्ञानेश्वर मेमोरियल स्कूलबाट गर्दै बाह्रौं श्रेणीको परीक्षा हिमाली बोर्डिङ स्कूलबाट उत्तीर्ण गरेकी थिइन्। उनले विज्ञान विषयमा स्नातक बंगलोरको पुट्टटपुर्तीस्थित श्री सत्य साई ईन्स्टीट्युटबाट गरेकी थिइन् भने स्नातकोत्तर सिक्किम मणिपालबाट उत्तीर्ण गरेकी थिइन्।‌

उनले भौतिक विज्ञानमा आफ्नो विद्यावारिधि नर्थ इस्टर्न हिल युनिभर्सिटी शिलङबाट प्रो पीके पात्रको निर्देशन र खरसाङ महाविद्यालयका प्राध्यापक डा अमीत शंकरको सहयोगमा‌ 5 वर्षमा पूरा गरेकी हुन्। डा भावना थापाले खुशी व्यक्त गर्दै आफ्नो सफलताको निम्ति माता पिता र आफ्ना गुरुहरुलाई धन्यवाद दिएकी छन्‌। उनी हालमा खरसाङको सन्त अल्फन्सेस विद्यालयमा भौतिक विज्ञानमा शिक्षिकाको रुपमा कार्यरत् छिन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande