गुवाहाटी, 01 जून (हि.स.)। गत दुई दिनदेखि लगातार भारी वर्षाको कारण पूर्वोत्तर भारतमा भीषण बाढ़ी र पैह्रोको स्थिति बनेको छ। असम, मणिपुर, अरुणाचल प्रदेश र मिज़ोरममा अहिलेसम्म 20 भन्दा धेरै मानिसहरूको मृत्यु भइसकेको छ। भारतीय मौसम विभागले बांग्लादेशमाथि बनेको निम्न दबाउलाई यस भारी वर्षाको कारण बताएको छ।
गुवाहाटीको चपाइडांगमा पैह्रोले महिला र नानीहरू समेत तीन जनाको मृत्यु भयो। अरूणाचल प्रदेशमा पैह्रोले कम्तीमा 9 जनाको ज्यान गएको छ। ईस्ट कामेंग जिल्लामा बाना-चेप्पा हाईवेमा एउटा वाहन भीरबाट तल झर्दा दुई परिवारका सात सदस्यको मृत्यु भयो।
तल्लो सुबनसिरी जिल्ला नजिक गएको पैह्रोमा पनि दुई जनाको ज्यान गएको जानकारी छ। पश्चिम कामेंगमा बालीपारा-चरदुवार-तवांग मार्गमा गएको पैह्रोको कारण धेरै गाउँहरूको सम्पर्क मार्ग बन्द भयो, जसबाट धेरै यात्रीहरू फंसेका छन्।
मणिपुरमा अचानक आएको बाढ़ी र पैह्रोले पहाड़ी जिल्लाहरू सेनापति, तमेंगलोंग, नुने र फेरजोलमा भारी नोकसान भएको छ। इम्फाल नदीको तटबन्ध भत्किएकोले इम्फाल पूर्वको एउटा ठूलो हिस्सा जलमग्न भएको छ। राज्य प्रशासनले बताएको छ, इम्फाल पूर्व र पश्चिम जिल्लाहरूबाट महिलाहरू, नानीहरू, बुजुर्गहरू र अन्य सहित कम्तीमा 800 जनालाई सुरक्षित निकालिएको छ।
भारतीय सेना र असम राइफल्सले 'अपरेशन जलराहत' अन्तर्गत मणिपुरका बाढ़ीग्रस्त क्षेत्रहरूबाट लगभग 800 नागरिकलाई शनिवार बचाएको छ। शनिवार इम्फालमा वर्षाको कारण पानी जमा भयो, जसबाट सड़कहरूमा यातायात ठप्प भयो र आम जन जीवन प्रभावित भयो। शहर र यसका वरपरका निम्न क्षेत्र सबैभन्दा अधिक प्रभावित भएका छन्।
मिजोरममा पनि स्थिति केही यस्तै रह्यो। गत 24 घण्टामा विनाशकारी बाढ़ीको कारण चार जनाको ज्यान गएको छ। जिल्ला आपदा प्रबन्धन प्राधिकरण अनुसार, चम्पाई जिल्लामा अचानक आएको बाढ़ीमा एउटै परिवारका तीन सदस्यको मृत्यु भयो, जबकि सेरछिपमा एक व्यक्तिको ज्यान गयो। धेरै जिल्लाहरूमा पैह्रोले घरहरू र सड़कहरूलाई नोकसान पुऱ्याएको छ।
मिजोरममा राज्यपाल जनरल वीके सिंह र आपदा प्रबन्धन मन्त्री प्रोफेसर लालनिलावमाले प्रभावित क्षेत्रहरूको दौड़ाह गरी मृतकहरूका परिजनहरूका लागि चार लाख रूपियाँको सहायता राशिको घोषणा गरेका छन्। राज्यभरिमा राहत र निगरानी अभियान जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी