कोलकाता, 14 जून (हि.स.)। पश्चिम बंगाल पुलिसद्वारा जारी एक बयानमा राज्य पुलिस विभागमा व्यापक रूपमा फेरबदल गरिएको बताइएको छ। हालैमा दक्षिण 24 परगनाको महेशतलास्थित रविन्द्र नगर थानामा भएको हिंसापछि यस स्थानान्तरलाई महत्वपूर्ण मानिँदैछ।
गए शुक्रवार राति जारी नोटिफिकेशन मुताविक रविन्द्रनगर थानाका इन्स्पेक्टर इन चार्ज (आईसी) मुकुल मियाँको स्थानान्तरण दार्जीलिङमा गरिएको छ। उनको स्थानमा अब मालदाको रतुआ क्षेत्रमा तैनाथ सर्कल इन्स्पेक्टर सुजन कुमार रायलाई रवीन्द्रनगर थानाको जिम्मेवारी सुम्पिइएको छ।
यसरी नै महेशतलाका एसडीपीओ (सब डिभिजनल पुलिस अफिसर) कमरुज्जमां मोल्लालाई स्टेट आर्म्ड पुलिस (एसएपी)- को तेस्रो बटालियनमा असिस्टेन्ट कमाण्डेन्ट नियुक्त गरिएको छ। उनको स्थानमा राजारहाट थानाका पूर्व आईसी सैयद रेजाउल कबिरलाई महेशतलाको नयाँ एसडीपीओ बनाइएको छ।
यो फेरबदल यस्तो समयमा गरिएको छ जतिबेला गत बुधवार रवीन्द्रनगर क्षेत्रमा हिंसा भड़्केको थियो। स्थानीय मानिसहरूद्वारा थाना बाहिर प्रदर्शन गरियो, सड़कमा टायर बालियो तथा पुलिसमाथि ढुङ्गामुड़ा गरियो। भीड़ले पुलिसको वाहनलाई नोक्सान पुऱ्यायो साथै मोटरसाइकलमा आगो लगाइदियो। यस घटनामा धेरै जना पुलिसकर्मीहरू घाइते भएका थिए।स्थितिलाई नियन्त्रण गर्नको लागि ठूलो संख्यामा बललाई तैनाथ गर्नु परेको थियो।
यद्यपि आधिकारिक सूत्रको दाबी छ, यो स्थानान्तरण एक नियमित प्रक्रिया अन्तर्गत गरिएको हो। तर स्थिति र समयलाई हेर्दा यसलाई कारबाहीको रूपमा पनि हेरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा